एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना सुरू

रिपोर्ट नेपाल | 2021 Jun 23 | 08:07 am 1717

काठमाडौं, असार ९ः एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ती विद्यालयले भर्ना लिन थालेका हुन् ।

उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षा समेत सञ्चालन गरेका छन् । भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न थालेको अभिभावकहरू बताउँछन् ।

‘के आधारमा कुन विषय पढ्न रजिस्ट्रेसन गर्ने ? कुन आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने ?’ अभिभावक राजेन्द्र सापकोटाले भने, ‘यो त सरासर अवैध काम भइरहेको छ । विद्यार्थी, अभिभावकसँग पैसा असुल्ने स्कुलहरूको धन्दा फेरि सुरु भएको छ ।’ शिक्षाविद्हरूले पनि कक्षा ११ मा नतिजाअगावै भर्ना खोलेर मनोमानी गरिएको बताए । यस्ता गतिविधिले शैक्षिक प्रणालीमा नै असर गर्ने उनीहरूको भनाइ छ ।

ठूला र नाम चलेका विद्यालयले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय (हिसान) का पदाधिकारीहरू सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् ।

गत वर्ष नतिजा आउनु पहिल्यै विद्यार्थी भर्ना लिने विद्यालय यसपटक पनि सक्रिय देखिन्छन् । शिक्षा मन्त्रालय र स्थानीय तहले मनोमानी गर्ने शिक्षण संस्थालाई नियमन र कारबाही गर्न नसक्दा हरेक वर्ष विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै आएको छ ।

हिसानका अध्यक्ष रमेश सिलवाल सञ्चालक रहेको गोल्डेनगेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि विद्यार्थी भर्ना खोलेको छ । ‘अहिले हतार गरेर विज्ञान विषयमा रजिस्ट्रेसन गरौंला भोलि एसईईको नतिजा सोचे जस्तो नआए फेरि कुन कलेज खोज्दै हिँड्ने ?’ विद्यार्थी भुवन पन्तले भने, ‘चुप लागेर बसौं सबै आफूले पढ्छु भनेको कलेजको सिट संख्या भरिएला ।’

शिक्षण संस्थाहरूले आफूखुसी भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरू दुविधामा फसेको उनले गुनासो गरे । सरकारसँग नजिक रहेका अगुवा शिक्षण संस्थाले नै बदमासी सुरु गरेपछि उनीहरूको सिको गर्दै काठमाडौं उपत्यकाका अन्य दर्जनौं स्कुलले पनि भर्ना आह्वान गरेका छन् । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.