दुर्लभ गिद्धलाई असारे चटारो

रिपोर्ट नेपाल | 2021 Jun 23 | 07:33 am 2469

अर्घाखाँची, असार ९ः यतिबेला दुर्लभ गिद्धलाई असारे चटारो छ। माउहरूले भर्खर गुँडबाट उडाएका बचेरालाई आहार खोज्न, खान र शत्रुबाट बच्न सिकाउँदै छन्। अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित घेरा भीर हिमाली, हाडफोर र सेतो प्रजातिका गिद्धले सँगै गुँड लगाउने नेपालको एक मात्र पहारा हो। यस ठाउँलाई घेरा लेक पनि भनिन्छ।

करिब दुई साताअघि त्यहाँ पुग्दा गिद्धहरू बचेरालाई उड्न सिकाइरहेका थिए। उनीहरूले गुँडमा रहेका केही बचेरालाई आहार लिएर खुवाउँदै गरेको पाइएको विगत बाह्र वर्षदेखि अर्घाखाँचीमा गिद्धको अध्ययन, अनुसन्धान गरिरहेका गिद्ध विज्ञ कृष्ण भुसालले बताए।  असोज÷कात्तिकदेखि गुँड बनाउन सुरु गरेका गिद्धले जेठ अन्तिमसम्म बचेरा उडाउँछन्। यस वर्षको प्रजनन अवधिमा घेराभीरमा हिमाली गिद्धका ३० वटा, हाँडफोर गिद्धका २ वटा र सेतो गिद्धका ३ वटा गुँडबाट बचेरा उडाएको भुसालले बताएका छन् । गिद्धले वर्षमा एउटा मात्र अन्डा पार्छ।

जिल्लाको अर्घामा रहेका सल्लेरी जंगलमा लोपोन्मुख डंगर गिद्धको बासस्थान थियो।  तर पाँच वर्षदेखि त्यस क्षेत्रबाट गिद्धका गुँडहरू हराएका छन्। जंगलको बाटो हुँदै खनिएको मोटर बाटोको कारण गिद्ध विस्थापित भएको हुन सक्ने गर्ता खहरे खोला सामुदायिक वनका अध्यक्ष डिलबहादुर रानाभाटले बताए।

मूलत: तराईमा मात्र गुँड बनाउने डंगर गिद्धको बासस्थान १० वर्षअघि पहाडी जिल्लामा भेट्दा साह्रै उत्साहित भए पनि पछिल्ला दिनमा गिद्ध हराउँदै जाँदा दु:ख लागेको गिद्ध विज्ञ भुसालले बताए।

दुर्लभ गिद्ध, अन्य वन्यजन्तु र तिनको बासस्थान संरक्षणमा आफू प्रतिबद्ध रहेको गिद्धको बासस्थान क्षेत्र पर्ने सन्धिखर्क नगरपालिका–१० का अध्ययक्ष लक्ष्मीनारायण चुँदालीले बताए।

अर्घाको गर्ता खहरे, खहरे खोला र गर्लामका वनमा डंगर गिद्धका २१ वटासम्म गुडँहरू अभिलेख भएका थिए। अर्घाबाट गिद्ध हराउँदै जाँदा जिल्लाको छत्रदेव गाउँपालिकामा भने डंगर गिद्धका गुँडहरू बढेको अनुगमनकर्ता नेपाल पन्छी संरक्षण संघका जीव विज्ञ देउबहादुर रानाले बताए। छत्रदेवमा अत्यन्तै दुर्लभ सुन गिद्धको पनि गुँड रहेको रानाको भनाइ छ।  गिद्ध बचाउन स्थानीय समुदायसँगको हातेमालोमा संरक्षण अभियान सञ्चालन गरिएको छत्रदेव गाउँपालिका–३ का वडाध्यक्ष तेजप्रसाद खनालले जनाए।

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति र नेपालमा गुँड बनाउने छ प्रजातिमध्ये पाँच प्रजाति अर्घाखाँचीमा पाइन्छ। अर्घाखाँची जिल्ला नेपालकै गिद्धको लागि उपयुक्त भएको गिद्ध विज्ञ भुसालले बताए। यति मात्र होइन दुर्लभ सेतो गिद्ध पोखरा र तनहुँ पछि सबैभन्दा धेरै संख्यामा पाइने जिल्ला पनि अर्घाखाँची हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.