डाक्टर केसीको चिन्ता मन्त्रीदेखी मेडिकल कलेजसम्म

रिपोर्ट नेपाल | 2018 Jul 16 | 04:42 pm 2684

बुटवल, असार ३२ : जुम्लामा विगत १७ दिनदेखि अनसनरत डा.गोविन्द केसिको स्वास्थ्यप्रति प्रदेश मन्त्रीदेखि मेडिकल कलेजका सञ्चालक सम्मले चिन्ता व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर पाँचले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाँच नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले डा. केसीको स्वास्थ्य प्रति कसैले खेलवाड गर्न नहुने बताए ।  मन्त्री बरालले शिक्षा तथा स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रलाई असर पार्ने गरी बन्द हडताल गर्नु उचित नभएको समेत उल्लेख गरे ।

उनले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताए । मन्त्री बरालले कुनै पनि समस्याको समाधान संवादबाट मात्र सम्भव भएको भन्दै राज्यले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

आफूले पनि माथेमा आयोगको अध्ययन गरेको भन्दै माथेमा आयोगले सिफारिस गरेका अधिकांश बुदाहरु कार्यान्वयन गर्न सकिने उनले बताए । त्यसै गरी माथेमा आयोगको प्रतिवेदन प्रति संघीय सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न समेत मन्त्री बरालले आग्रह गरे । काठमाण्डौमा मात्र मेडिकल कलेज सञ्चालनमा ल्याएमा प्रदेशहरूमा स्थापना गरिने मेडिकल कलेजहरूमा दक्ष जनशक्तिको कमी हुने भएकाले यसतर्फ सचेत हुनुपर्ने सुझाव मन्त्री बरालको थियो ।

शिक्षा, स्वास्थ्यलाई निजी क्षेत्रको हातमा छोड्न नहुने भन्दै मन्त्री बरालले प्रदेश नम्बर पाँचका निजी स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्दै अघि बढ्ने बताए । नेपाल चिकित्सक संघ लुम्विनीका अध्यक्ष प्राध्यापक डाक्टर नन्दा गुरुङ्गले गोविन्द केसीले गरेको १५ औँ पटकको अनसनबाट सम्पूर्ण समस्याको दिगो समाधान गरी अनसनलाई सदाका लागि अन्तिम बनाउनुपर्नेमा राज्यले त्यस तर्फ ध्यान दिन नसकेको बताइन ।

लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपाल बहादुर पोख्रेलले डाक्टर गोविन्द के।सिका कतिपय मागहरू जीवन निर्वाहको सिद्धान्त विपरीत भएको दाबी गरे ।  त्यसै गरी साक्षात्कार कार्यक्रममा सहभागी देवदह मेडिकल कलेजका अध्यक्ष रजनिस जिन्दलले डाक्टर केसीको माग जे जसो भए पनि उहाँको जीवन रक्षा महत्त्वपूर्ण पक्ष भएको भन्दै त्यस तर्फ सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । अफिन लुम्विनीका उपाध्यक्ष समेत रहेका युवा अभियान मुक्तीराज पौडेलले जनताका माग प्रति सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल पाँच नम्बर प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा पत्रकार कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.