बाढिका कारण निर्माणाधिन पुल भत्कियाे

रिपोर्ट नेपाल | 2021 Jun 17 | 01:02 pm 3317

प्यूठान, असार ३ः लगातारकाे वर्षापछि झिमरुक नदीमा आएको बाढिका कारण ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका – ७ चिउरेखोला जोड्ने निर्माणाधीन मोटरेवल पक्की पुल भत्काएको छ।

पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिए । उनले भने, ’चार दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ।’

उनका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसका १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो । संघिय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।

भदौ महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बाढिले भत्काएको इन्जिनियर केसीले बताए। आर्थिक बर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिदै थियो। पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.