मेलम्ची बजारका सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत

रिपोर्ट नेपाल | 2021 Jun 17 | 07:26 am 2449

सिन्धुपाल्चोक, असार ३ः मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको), हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति र चौतारा साँगाचोकगढी नगरपालिका १४ का सुरेन्द्र नेपाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए ।

एउटा शव फेला परेको र पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेड वर्कसमाथि पहिरो गई नदी थुनिएर सुरु भएको बाढीले हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो ।

त्यस्तै पाँचपोखरी गाउँपालिका ३ को भोताङको लार्केबाट पनि सोही समयमा बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो । सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ ।

सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् ।

तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको इलामा प्रहरी कार्यालय तिम्बुले जनाएको छ । निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । मेलम्ची–तिम्बु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बाढीले बगाएको छ, बगर बनाएको छ ।

मङ्गलबार राति अपूरणीय क्षति पु-याएको इन्द्रावती नदीमा केही बहाव घटे पनि क्षति हुने क्रम घटेको छैन । “हिजोदेखि खोलाले कटान गरिरहेकै छ, आज बिहान बहाव केही घटे जस्तो भएको थियो तर दिउँसोबाट फेरि पानी पर्न सुरु भएको छ”, हेलम्बु ३ की सरस्वती पौडेलले भने ।

हेलम्बुबाट बग्ने मेलम्ची खोलामा पछिल्लो चौबीस घण्टा निरन्तर लेदो बगिरहेको स्थानीयले बताएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।

बाढीबाट नागरिकको उद्धार कार्य जारी छ । उद्धार गरिएका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायत २५० तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको पोखरेलले बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.