काठमाडौं, असार १ः जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको थियो । उपेन्द्रले पनि ठाकुर, महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए । दुवै समूहले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरे पनि निर्वाचन आयोगले प्रक्रिया नमिलेको भन्दै अस्वीकार गर्याे ।
सोमबार उपेन्द्र समूहले ठाकुर र महतो समूहबाट संघीय सरकारमा मन्त्री बनेका ११ जना नेतालाई स्पष्टीकरण सोधेको छ । ८ जेठमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नम्बर–४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदाहुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ ।
पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।
संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप मन्त्रीलाई लगाइएको छ । राजधानी दैनिकबाट