पाँचथरमा धारिलो हतियार प्रहार गरी एक बृद्धकाे हत्या

रिपोर्ट नेपाल | 2021 Jun 13 | 11:37 am 2765

पाँचथर, जेठ ३०ः जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

हत्या हुनेमा स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू रहेका छन् । उनको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो ।

इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक रूपमा अशक्त छन् ।

सासुससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।

मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीबारमात्रै उनले निवृत्ति भरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.