पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

रिपोर्ट नेपाल | 2021 Jun 13 | 08:30 am 2561

स्याङ्जा, जेठ ३०: सिद्धार्थ राजमार्ग अन्तरगत स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सडक अवरुद्ध भएको छ। गएरातिदेखि परेकाे अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीले बताएका छन्।

राजमार्गमा राति २ बजे ठूलो पहिरो गएकाले उक्त सडकमा चल्ने अत्यावश्यक सवारी साधन गन्तव्यमा पुग्न नपाइ सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको बताइएकाे छ। उक्त राजमार्ग बिहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ। राजमार्गअन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जाभित्र मात्र एक दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.