अब चितवन र पोखराबाट सुविधासम्पन्न बस सञ्चालन हुने

रिपोर्ट नेपाल | 2018 Jul 16 | 01:22 pm 2145

चितवन, असार ३२: पर्यटनलाई मध्यनजर गरी अब चितवनको सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको जनाएको छ ।

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जना यात्रुको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० तोकिएको छ । भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने अधिकारीले बताए ।

सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने जानकारी दिएका छन् ।

पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उनले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताए ।

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ : ३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.