जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

रिपोर्ट नेपाल | 2018 Jul 16 | 08:38 am 2237

म्याग्दी, असार ३२ : हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।

जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

यी जलविद्युत् आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम रु १५ हजारदेखि ५० हजारसम्म कमाइ गर्दै आएका स्थानीय २९ वर्षीय वीरबहादुर पुनले बताए।

पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइञ्चार्ज भएर काम गरिरहेका पुनः गाउँमै रोजगारी पाएपछि खुशी छन् । त्यसैगरी स्थानीय नरेश पुन केही वर्ष कतार बसेर स्वदेश फर्किए । गाउँकै सबै युवा जलविद्युत्का काममा व्यस्त बनेको देखेर उनलाई विदेश मोह हट्यो । तीन वर्षदेखि उनी घलेम्दीमै कामदारका नाइके छन् । “म विदेश जाने बेलामा जलविद्युत् आयोजना बन्ने भन्ने हल्ला मात्रै थियो, फर्केर आउँदा सबै निर्माण चरणमा थिए”, नरेश भन्नुहुन्छ “क्षमताअनुसारको काम पनि पाइयो अहिले ठीकै छ ।”

गाउँमै पाएको जागिरले उनलाई कतारको भन्दा बढी सन्तुष्टि दिएको छ । स्थानीय महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीमा दैनिक १५० जनाले काम पाइरहेका छन् । “अब नीलगिरिले पनि कामदार खोजिरहेको छ अब त रोजीरोजी जागिर गर्न पाइन्छ”, उहाँ भन्नुहुन्छ “गाउँमा जलविद्युत् आयोजनाले नै परिवर्तन हुँदोरहेछ भन्ने कुरा बुझ्दैछौँ ।” स्थानीयले आयोजनामा काम मात्र होइन त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटलसमेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युत्गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ ।

अहिले त्यहाँ करीब २०० कामदार छन् । त्यसैलाई लक्ष्य गरेर स्थानीय धनबहादुर पुनले किराना पसल सञ्चालन गरेका छन् । त्यहाँको व्यापारबाट उनी सन्तुष्ट छन् । “कामदारले मात्र होइन जलविद्युत् आयोजनाको अवलोकनका लागि हरेक दिन विभिन्न ठाउँका पर्यटक पनि आउँछन् त्यसैले व्यापार राम्रै छ”, दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका पुनले बताए। नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामी गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई राम्रो रोजगारी प्रदान गरिरहेको बताउछन्।”

कम्पनी प्रत्यक्ष आफैँले भौतिक संरचनाको काम गरिरहेकाले घलेम्दीले तुलनात्मक रूपमा स्थानीयलाई बढी प्राथमिकता दिएका छन्। मिस्त्रीको निर्माण ठेक्कामार्फत भइरहेको छ भने नीलगिरिले पनि सोहीअनुसार काम गर्ने तयारी गरिरहेको छ। “ठेकदारमार्फत काम गर्दा दक्ष जनशक्ति मात्र खोजिँदो रहेछ, तर घलेम्दीले स्थानीयलाई निकै राम्रो गरेको छ”, वडाअध्यक्ष फगामी भने, “घलेम्दीमा स्थानीयले धेरथोर लगानी पनि गरेका छन्।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.