स्व. श्रेष्ठको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

रिपोर्ट नेपाल | 2021 Jun 06 | 06:32 pm 1717

तनहुँ, जेठ २३ः तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गरिने घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको गएको जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

स्व. श्रेष्ठको स्वर्गारोहण भएको १३ दिनको पुण्यतिथिमा आइतवार ३ लाख रुपैयाको अक्षय कोषको स्थापना गरिएको हो । समितिका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले कोषको घोषणा गर्दै विभिन्न ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिने जानकारी दिए ।

रेडियोका शेयरधनी सदस्यहरुबाट स्वतस्फूर्त र केहि रकम उनको परिवारबाट समेत जम्मा हुने गरी उक्त बराबरको अक्षयकोष स्थापना गरिएको उनले बताए ।

उक्त रकमबाट प्राप्त ब्याजले आगामी २०७९ साल असोज ४ गते रेडियो स्थापना भएको दिनको अवसर पारेर नगदसहित सम्मान गरिने छ । यसअघि रेडियोको शुक्रवार बरिष्ठ उपाध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मान गरिने उनले जानकारी दिए । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने छ ।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । स्व. श्रेष्ठको स्मृतिमा खडा गरिएको अक्षय कोषलाई व्यवस्थित बनाउन आवश्यक विनियम निर्माणका लागि रेडियोका निवर्तमान अध्यक्ष श्री नारायण श्रेष्ठको संयोजकत्वमा आनन्द सुन्दर श्रेष्ठ (सल्लाहकार) र राजन उपाध्याय (स्टेसन मेनेजर) सदस्य रहेको समिति गठन गरिएको रेडियोले जनाएको छ । स्व. श्रेष्ठ रेडियोका संस्थापक उपाध्यक्ष हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.