वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाब सञ्जाल गठन

रिपोर्ट नेपाल | 2021 Jun 06 | 08:31 am 2765

सुनसरी, जेठ २३ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्। केही दिनयता निरन्तर जुटेका नागरिक अगुवा र राजनीतिक दलका नेताहरूले शनिबार पनि स्थानीय सरकार धरान उपमहानगरका मेयर र उपमेयरसहित बृहत् बैठक गर्दै प्रतिष्ठान सुधारका लागि धरान नागरिक दबाब सञ्जाल गठन गरेका छन्। प्रतिष्ठानको सुधार गर्न तथा विकृति र विसंगति अन्त्यको लागि दबाबमूलक कार्यक्रम एवं अभियान सञ्चालन गर्न प्राडा राजेन्द्र शर्मा संयोजक रहेको सञ्जल गठन गरिएको हो। सञ्जालको सदस्य सचिवमा डा. कमल तिगेला छन्।

सञ्जालका संयोजक डा. शर्माले आवश्यक कार्यदिशा तयार गरेर प्रतिष्ठानको विकृति नियन्त्रण गर्न निरन्तर निगरानी गर्ने एवं दबाब दिइने बताए। ‘हामी कार्यदिशा तयार गर्छाैं। यहाँको बेथिति, अनियमितता, भ्रष्टाचार अन्त्य गर्न र पदाधिकारीबीचको बेमेल पनि अन्त्य गर्न कानुनी बाटो अपनाउछौं,’ संयोजक शर्माले भने, ‘यसो गर्दा पनि अटेरी गरिरहेमा हाम्रो अभियानले अर्कै स्वरूप लिन पनि सक्छ।’

कोभिडको दोस्रो लहरको चपेटामा सर्वसाधारण जनता परिरहँदा व्यवस्थापन चुस्तदुरुस्त नभएपछि पछिल्लोसमय प्रतिष्ठानका पदाधिकारी आलोचित बनिरहेका छन्। करिब दुई साताअघि अक्सिजन प्लान्ट बिग्रिएर कोभिड अस्पतालको उपचारमा प्रभावित भएको थियो भने भेन्टिलेटर बिग्रँँदा पनि समयमै मर्मत नगर्ने, कोभिड अस्पतालको बेड क्षमता विस्तारमा ध्यान नदिने गरेको भन्दै नगरवासी आक्रोशित छन्। पदाधिकारीको छुट्टाछुट्टै व्यापारीसँग सेटिङ हुने र कमिसनको विवादले एकअर्कालाई दोषारोपष गर्नमै व्यस्त छन्।

रसर्वत्र आलोचना हुन थालेपछि प्रतिष्ठानलाई सुधार गर्न राजनीतिक दल र नागरिक अगुवाहरू सक्रिय भएका हुन्। माओवादी केन्द्रका नेता चोत्लुङ अब धरानवासीका तर्फबाट नागरिक अगुवाहरूले दबाबमूलक आन्दोलनको अगुवाइ गर्ने र त्यसमा राजनीतिक दलको पनि पूर्ण समर्थन रहने बताउँछन्। ‘विपी प्रतिष्ठानलाई हरेक किसिमबाट सुधार गर्ने अभियान हो, नागरिक अगुवाहरूको यो अभियानमा हामी राजनीतिक दलहरूको पनि साथ, सहयोग र सहभागिता रहनेछ,’ उनले भने।

नागरिक दबाब दिँदा पनि प्रतिष्ठानका पदाधिकारीले सुधार नगरेमा राजनीतिक दलहरूले उपकुलपतिको राजीनामा माग गर्दै आन्दोलन गर्ने बताएका छन्। प्रतिष्ठानका पदाधिकारी आफै पनि सुध्रनु पर्ने र प्रतिष्ठानको व्यवस्थापकीय सुधार गर्नुपर्ने प्रमुख मागलाई बेवास्ता गर्दै भ्रष्टचार र कमिसनमा लिप्त भइरहे उपकुलपतिसहितको नेतृत्वलाई नै हटाउन आन्दोलन गर्ने माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले बताए।  नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.