नाममा मात्रै सिमिमत हुँदै सिमलचाैर

रिपोर्ट नेपाल | 2021 Jun 06 | 08:00 am 4413

कास्की, जेठ २३: पोखराको एक बजारको नामै छ, सिमलचौर। यहाँ पहिले चौरभरि सिमलका रूख भएकाले सिमलचौर नाम राखिएको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक रामजी गौतम बताउँछन्। अहिले भने सिमलचौरमा सिमलका रूखको ठाउँ कंक्रिट घरले लिएको छ।

बस्ती बिस्तारसँगै निजी खेत, बारीका सिमल कटान हुने क्रम बढेको छ। यसैले पुरानो गाउँघरका त्यो सिमलसहितको दृश्य देख्न मुस्किल बन्दै गएको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। पुराना रूख कटान हुने तर नयाँ हुर्काउने बानी हट्दै गएको विज्ञ बताउँछन्। यद्यपि, संरक्षित क्षेत्रभित्र र सामुदायिक वनमा भने समस्या नरहेको डा. बरालको भनाइ छ।

सिमलको रूख अग्लो हुन्छ, भुवा नरम। धेरै थरी चराचुरुंगीले गुँड बनाउन सिमलकै रूख रोज्छन्। गिद्ध, चील, गरुड, साँवरीको त पहिलो रोजाइमै पर्छ। कुथुर्के, टुकटुके, न्याउली र तोप चरा पनि पाएसम्म यही रूखमा गुँड लगाउँछन्।

सिमलमा पात कम हुन्छ। हाँगाबिँगा धेरै हुँदैनन्। टुप्पो भने झ्याप्प हुन्छ। अग्लो हुनाले सिकारीबाट सुरक्षित ठानेरै धेरै चराचुरुंगीलाई सिमलकै रूखमा गुँड बनाउन मन लाग्ने विज्ञ बताउँछन्। चराका प्रजातिअनुसार सिमलको सानो हाँगा, मुख्य हाँगा, बूढो रूखको टोड्कामा पनि गुँड लगाउँछन्। नेपालमा पाइने स्तनधारी चमेरोको एउटा प्रजाति सिमलको रूखमै झुन्डिएर बस्ने गर्छ। यो नेपालमा पाइने सबैभन्दा ठूलो चमेरोको प्रजाति हो।

अग्ला रूखमा गिद्धका चार प्रजाति सानो खैरो, सुन, सेतो र डंगर गिद्धले गुँड लगाउँछन्। गरुढ प्रजातिमा भुडीफोर, लोभिपापी गरुढ, घुंघीफोर, कृष्णकण्ठ गरुडले गुड लगाउने डा. बराल बताउँछन्।

लघुमहाचील, कालोचीललगायत चील र दुई प्रजातिका साँवरीलगायत ठूला चराले पनि सिमलमा गुँड लगाउँछन्।  अन्नपूर्ण, माछापुच्छ«े हिमालबाट २५ किलोमिटरको हवाई दुरीमा रहेको पोखरामा वर्षैभरि न धेरै जाडो हुन्छ न त धेरै गर्मी नै। यसैले पोखरामा तराई र हिमाली क्षेत्रमा पाइने दुवै थरीका चरा यहाँ पाइन्छन्।

यसैले सिकारी चराका लागि पोखरा स्वर्ग भएको डा. बराल बताउँछन्। उनका अनुसार पोखरा एक मात्र एउटा यस्तो सहर हो जहाँ नेपालमा पाइने सबै नौ प्रजातिका गिद्ध पाइन्छ। यसैले पोखरा चराले चिनेको मान्छेले नचिनेको स्वर्ग रहेको उनी बताउँछन्।

पोखरामा पछिल्लो समय गिद्ध बस्दै र गुँड बनाएर बच्चा हुर्काउँदै आएका रूख पनि कटान हुने क्रम बढेको छ।  पोखराका वडा नम्बर ३३ र २१ का विभिन्न स्थानका सिमल गिद्धको रोजाइ बन्दै गएको छ। पोखरा–२१ दोबिल्लापारी निर्मल पोखरीस्थित रइचौरका सिमल पछिल्लो समय काटिएका छन्। बाक्लो संख्यामा गिद्ध बस्दै आएका रूख धमाधम कटान हुन थालेपछि पोखरा मात्रै होइन देशैभर यस्तो समस्या बढ्दै गएको हो।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.