नेपालको विद्युत् खपत क्षमता वार्षिक २० प्रतिशतले बढाउन सकिने

| 2021 Jun 05 | 07:33 am 2285

काठमाडौँ, जेठ २२ः सरकारले विद्युत् खपत विस्तारलाई दिगो र उच्च बनाउने गरी खपत विस्तारमा विभिन्न छुट तथा प्रवर्धात्मक कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा समेटिएका विभिन्न छुट तथा योजनाका कारण नेपालको विद्युत् खपत क्षमता वार्षिक २० प्रतिशतले बढाउन सकिने अपेक्षा रहेको देखिएको छ ।

बजेट वक्तव्यमा गाउँ तथा औद्योगिक क्षेत्रमा विद्युत् वितरण विस्तारदेखि घरायसी खपत विस्तारका योजना छन् । “विद्युत् खपत विस्तारका गर्नका लागि यस पटक सरकार भन्सार तथा अन्य राजस्वमा क्षति सहनसमेत तयार भएको छ,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने ।

उनले घरमा प्रयोग हुने विद्युतीय सामान, विद्युतीय सवारीलगायतका छुट, अफआवरमा उद्योगलाई छुटदेखि ग्रामीण विद्युतीकरण विस्तारको योजनाले खपत विस्तारमा दिगो प्रभाव पर्ने देखेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका ग्राहकमा गार्हस्थ्य उपभोक्ताको हिस्सा करिब ८० प्रतिशत छ । यद्यपि व्यावसायिक हिसाबले त्यो हिस्सा कम छ । गार्हस्थ्य र औद्योगिक दुवै क्षेत्रमा खपत बढाउने योजनाका आधारमा आगामी आवमा मात्रै प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब ५० युनिट बढाउने अपेक्षा प्राधिकरणको छ ।

अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६० युनिट रहेको छ । चालू आव २०७७/७८ को अन्त्यसम्ममा यो आँकडा २९० देखि तीन सय युनिट रहने अनुमान छ । आगामी आर्थिकको अन्त्यसम्ममा यो आँकडा ३५० पुग्नेछ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.