जनमोर्चाका सांसद कृष्ण थापाद्वारा सर्वोच्चमा रिट निवेदन दायर

| 2021 Jun 04 | 03:37 pm 1693

पोखरा, जेठ २१: जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सांसदबाट बर्खास्त गर्ने पार्टीको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

जनमोर्चाले बिहीबार थापालाई सांसदबाट हटाउन प्रदेश सभामा पत्र दिएको थियो। उक्त पत्र सभामुख नेत्रनाथ अधिकारीले उनलाई सांसदबाट हटाइएको पार्टीको भनि पढेर सुनाएका थिए।

राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालय, राष्ट्रिय जनमोर्चा प्रदेश संसदीय दलको कार्यालय, प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश सभाका सभामुख र निर्वाचन आयोगलाई थापाले विपक्षी बनाएर रिट दायर गरेका हुन्। रिट दर्ताका लागि थापाले गणेश घिमिरेलाई वारेसनामा दिएका थिए।

‘प्रदेश सभा सदस्यको हैसियतमा निरन्तर काम काम कारबाही गर्न दिनु भनी प्रत्यर्थीहरुको नाउँमा प्रतिशेधयुक्त परमादेश लगायतको अन्य जो चाहिन उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पूर्ण न्याय दिलाई पाऊँ,’ थापाले रिटमा माग गरेका छन्।

सांसद थापाले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा समर्थन जनाउन मानेका थिएनन्। उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गर्नसमेत नमानेपछि जनमोर्चाको बिहीबारको केन्द्रीय कमिटी बैठकले कारबाहीको निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.