कोरोना महामारीसँगै अर्को रोग कालो ढुसी

रिपोर्ट नेपाल | 2021 Jun 02 | 07:30 am 2741

काठमाडौं, जेठ १९: कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस)बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए। कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्‍याउने चिकित्सक बताउँछन्। मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ। काठमाडौंमा तीनवटा अस्पतालमा केही संक्रमितको उपचार भइरहेको छ।

भारतमा ब्ल्याक, ह्वाइट र येलो फंगसका संक्रमित बढ्दै गएको विभिन्न समाचार एजेन्सीले जनाएका छन्। जसमध्ये ब्ल्याक फंगस भनिने कालो ढुसीको संक्रमण सीमापारि उत्तर प्रदेश र सीमावर्ती बाँके, पर्सालगायत जिल्लामा बढ्दो छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार फंगसहरू अवसरवादी हुन्छन्। ‘यी अपर्चुनिस्ट (अवसरवादी) फंगस हुन्। मौका छोप्छन्। रोग प्रतिरोध क्षमता कमजोर भएका र लामो समय औषधि सेवन गरेका व्यक्तिमा संक्रमण गर्छन्’, डा. पौडेलले भने, ‘स्टेरोइड (अक्सिज लेभल घटेको बेला दिइने औषधि) सेवन गरेका र दीर्घ रोगीमा संक्रमण गर्ने सम्भावना बढी हुन्छ।’ एक खालको अवसरवादी फंगसका कारण कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमण भएको डा. पौडेलले बताए।

उनले भने, ‘ठ्याक्कै तथ्यांक प्राप्त भइसकेको छैन। नेपालगन्ज, वीरगन्ज र काठमाडौंमा गरी  १०/१२ जनालाई संक्रमण भएको छ।’

भारतसँगका सीमावर्ती वीरगञ्ज र नेपालगन्जमा संक्रमण विस्तार भइरहेको  चिकित्सकले जानकारी दिएका छन्। कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलका अनुसार ४५ देखि ६५ वर्ष उमेर समूहका दीर्घरोगीलाई संक्रमणको जोखिम हुने गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.