ललितपुर, जेठ १८ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहलाई बेवास्ता गरी विभिन्न टोल र वडामा खोलिएका अधिकांश आइसोलेसनमा आवश्यक पूर्वाधारको अभाव रहेको पाइएको छ ।
मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर खोल्दा घातक हुने चेतावनी दिएको छ । ललितपुरका विभिन्न स्थानीय तहसँगै देशभर नै कोरोना संक्रमणको जोखिम उच्च रहेको बेला वडास्तरमा आइसोलेनस खोल्ने क्रमले तीव्रता पाएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
यस स्थितिमा ललितपुर महानगरपालिकाका विभिन्न टोल, वडामा खोेलिएका अधिकांश आइसोलेसन कक्षहरू पनि अन्य स्थानको भन्दा खासै फरक नरहेको पाइएको छ । आइसोलेसन कक्षमा स्वास्थ्यकर्मी, आवश्यक उपकरण, औषधि र बिरामीको अवस्था गम्भीर भएमा लैजाने अस्पतालसँगको समन्वय र प्रत्यक्ष निगरानीे कमी रहेको पाइएको छ ।
चिकित्सक डा. कृष्णगोपाल महर्जनसहित ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीको टोलीले विभिन्न आइसोलेसन कक्षको अनुगमन गर्ने क्रममा सो अवस्था पाइएको हो ।
यसैबीच समितिले बैठक बसेर त्यसरी खोलिएका आइसोलेसन कक्षमा आवश्यक सामग्रीको प्रबन्ध मिलाउन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसमक्ष लिखितरूपमा ध्यानाकर्षण गराएको समितिका सदस्य एवं महानगरपालिका–१ का वडा सदस्य निर्मल तण्डुकारले बताए ।
समितिले महानगरपालिकाको वडा २८ र २९ को संयुक्त आइसोलेसन, ११ वडास्थित श्री चण्डी माविमा खोल्न लागिएको आइसोलेसनको अवस्थाबारे अनुगमन गरेको थियो । त्यसैगरी, समितिले महानगरपालिका–२७ स्थित सुनाकोठी, बागडोलस्थित ज्यापु समाजको भवनमा खोलिएको आइसोलेसन कक्ष, पुल्चोकस्थित अक्षेश्वर महाविहारमा खोलिएको आइसोलेसन कक्षको पनि अनुगमन गरी आवश्यक जानकारी लिएको थियो ।
आइसोलेसन कक्ष खोल्ने विभिन्न संघसंस्था, समुदाय र वडाको पहलकदमीलाई राम्रैरूपमा लिइए तापनि अधिकांश आइसोलेसनमा आवश्यक मापदण्ड पालना गर्न कठिनाइ भएको समितिका संयोजक दिनेश कार्कीले बताए । नेपाल समाचारपत्रबाट