सन्दर्भ पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको १३औं दिनको पुण्यतिथी

ढल्यो नेपाल प्रहरीको जिवित इतिहास

रिपोर्ट नेपाल | 2021 May 31 | 07:00 am 36433

  • वसन्त भुजेल

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजिपी) खड्गजित बरालको गत जेठ ५ गते बुधबार बिहान निधन भई आज २०७८ जेठ १७ गते १३औं दिन पुगेको छ । सर्वप्रथम म उहाँ प्रति यो १३औं दिनको पुण्यतिथीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

No description available.

बरालको जन्म कप्तान बहादुरसिंह बराल र सरस्वती बरालको कान्छो छोराका रुपमा विसं १९८५ वैशाख ५ मा तत्कालीन पाल्पा (हाल पूर्वी नवलपरासी) को देवचुलीस्थित चुलीबोझा गाउँमा भएको हो । उनी २०१३ देखि २०३५ सालसम्म नेपाल प्रहरीमा रहे । उनले विसं २०३६ देखि २०४२ सालसम्म तत्कालीन बर्मा (हाल म्यानमार) का लागि आवासीय नेपाली राजदूतको जिम्मेवारी बहन गरे । यसका अतिरिक्त उनले इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डो–चाइना (लाओस, कम्बोडिया र भियतनाम)का लागि गैरआवासीय राजदूतको जिम्मेवारी एकैसाथ बहन गरेका थिए । उनी २०४२ देखि २०४६ सम्म राष्ट्रिय पंचायतको सदस्य बने ।

नेपाल प्रहरीमा ६ वर्ष नेतृत्व सम्हालेका बराललाई ‘फादर अफ नेपाल पुलिस’ भन्ने गरिन्छ । नेपाल प्रहरीको आजको संरचना, सेवा सुविधाका लागि बरालले अग्रसरता लिएका थिए । उनी प्रहरी सेवापछि कुटनीतिक र राजनीतिक क्षेत्रमा पनि संलग्न थिए । बरालले नेपाल प्रहरीको नेतृत्व गरिरहेका बेला नेपाल प्रहरीका लागि बस्ने व्यवस्थित भवनसहित रासनसहित अन्य सुविधाको सुरु भएको थियो । नेपाल प्रहरीमा भीष्म पितामह सदृष विशालतम् मुर्धन्य व्यक्तित्व तथा बहुआयामिक प्रतिभा एवं चरित्रका धनि, गौरवशाली धरोहरका रुपमा उनको नाम लिने गरिन्छ ।

बराल ४४ वर्षकै उमेरमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीमा ६ वर्ष आइजीपी बन्ने बराल मात्रै हुन् । बराल आईजिपी बन्ने पहिलो स्नातकोत्तर उत्तिर्ण प्रहरी अधिकृत हुन् । उनी २०१३ सालमा प्रहरी सेवामा प्रवेश गर्दा नै स्नातकोत्तर उत्तिर्ण थिए । बरालको पारिवारिक पृष्ठभूमि ब्रिटिस आर्मीको थियो । उनका बुबा र दाजुभाइहरु ब्रिटिस आर्मी थिए । उनका पुर्खा नेपाली सेनामा रहेर अंग्रेजविरुद्धको युद्धमा सहभागी थिए । पछि भारतमा ब्रिटिस आर्मीका लागि उनिहरु भर्ना भएका थिए र त्यसको निरन्तरता पुस्तामा सर्दै आएको थियो । बराल हकी र फुटबलका राम्रा खेलाडी थिए ।

No description available.

प्रजातन्त्रका सेनानी खड्गजीत बराल माथि अन्याय भएको छ । जनअधिकार बहालीका निम्ति नेपालमा भएको अहिलेसम्मकै सबै भन्दा ठूलो आन्दोलन हो –‘२००७ सालको जनक्रान्ति ।’ यो जनक्रान्तिमा खड्गजीत बराल आफ्ना बाबुको बन्दुक चोरेर सहभागी भएका थिए । क्रान्तिका लागि आवश्यक हात हतियारको जोहो मात्रै होइन, जनमुक्ति सेनाको भनौ तथा तालिममा बरालको धेरै ठूलो योगदान छ ।

२००७ सालको जनक्रान्ति सम्पन्न भएपछि आन्दोलनमा लागेका अन्य नेता तथा कमाण्डरहरु कोही मन्त्री बने कोही बडा हाकिम बने । क्रान्तिका उपलव्धीहरु निश्कर्षमा पुग्न बाँकी रहेको यर्थाथता उजागर गरेकै कारण उनी कोपभाजनमा परे । यहाँ भन्दा ठूलो विडम्वना अरु के हुन सक्छ ? जुन पार्टीमा संलग्न भएर उनी क्रान्तिमा होमिएका थिए, त्यही पार्टीले अधुरा उपलव्धीमा सहमति जनाए पछि बरालको चित्त दुखेको थियो । उनको क्षमता र योगदानको कदर नेपाली कांग्रेसले गर्न नसके पनि राजा महेन्द्रले गरे । उनी नेपाल प्रहरीमा आवद्ध हुन पुगे । छोटो समयमै नेपाल प्रहरीको सवै भन्दा उच्चपद आइजीपीसम्म भए । नेपाल प्रहरीको संगठनलाई आजको अवस्थामा पुर्याउन सबै भन्दा बढी योगदान बरालकै रहेकोमा कसैले विमती राखेका छैनन् ।

मैले पहिलो पटक बराल सँग मेरो भेट रोटरी क्लव अफ पशुपतिमा भएको हो । उनी प्रेसिडेण्ट भएको क्लवमा म आवद्ध थिएँ । त्यतिबेला आइजीपी पदबाट अवकाश भई चार वर्ष बर्माको राजदुत र पाँच वर्ष संसद (तत्कालिन राष्ट्रिय पंचायतको सदस्य) का रुपमा सेवा पुर्याइसकेका थिए । पदीय हिसावले राजदूत र रापंस भनेको आइजीपी भन्दा धेरै माथिल्लो हो । तर उनी आफूलाई पूर्व आइजीपीका रुपमा चिनाउन नै गर्व गर्थे । बहालबाला आइजीपीको भन्दा कम देखिँदैनथ्यो उनको सान सौकात र व्यक्तित्व । सबै रोटरियनहरु उनको हुकमका अघि नतमस्तक हुन्थे र बास्तवमा समाजसेवा के हो ? कसरी गर्न सकिन्छ ? भन्ने पाठ मैले उनबटै सिक्ने मौका पाएको हुँ । बाहिर देख्दा जति कडा र ठागो स्वभावका थिए, भित्री हृदय त्यति नै कोमल र मायालु थियो ।

मलाई रोटरी इन्टरनेशनलको पावल हेरिस फाउण्डेशनको पुरस्कार दिलाउन बरालको ठूलो हात छ । वास्तवमा नेपाल प्रहरीले ठूलो दुःख पाएको माओवादी द्धन्दकालमा हो । हज्जारौं प्रहरीहरु मारिए । उनीहरुका विधवाहरुको कन्तविजोग भयो । राज्यले वास्ता गरेन । सिपाहीका विधवा पत्नीहरु के खाउँ र के लाउँको अवस्थामा पुगे । त्यो संकटका बेला वरालले उनीहरुका निम्ति सिलाई बुनाई लगायत सीप मुलक तालिम दिलाएर आत्मनिर्भर बनाउने अभियान सुरु गरे । सीप मात्रै सिकाएनन् सिलाई मेसिन समेत उपहार दिएर आत्मनिर्भर बनाए ।

अपांग तथा शारीरिक रुपमा विकलांग बच्चाहरुका लागि विशेष अभियान नै चलाए । जन्मजात तालु फाटेर ओठ खुँडे भएका बच्चाहरुको सर्जरी गरी सामान्य अवस्थामा फर्काउने उनको अभियानमा मैले पनि सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ । अहिले नेपालमा ओठ खुँडे भएका बच्चाहरु देख्नै पाइँदैन । देख्ना साथ रोटरीले लगेर निशुल्क उपचार गरिदिन्छ । यसको जग बरालले नै बसालेका हुन् ।

मुलकका दुर्गम ठाउँहरुमा घुम्ती स्वास्थ्य सेवा पुर्याउने कामको थालनी उनले नै गरेका हुन् । त्यसैको देखासिखी यतिबेला धेरैले गरिरहेका छन् । उनी दिनरात नभनी २४ घण्टा खट्थे । कहिले काहीँ त मध्यरातमा समेत उनको टेलिफोन मलाई आउँथ्यो । राती भएन र हजुर ? भनेर मैले भन्दा उनको जवाफ आउँथ्यो –‘हामी कहाँ पो राति भएको छ, अरु ठाउँमा त दिन नै छ नि, उनीहरुसँग सम्पर्क गर्ने यतिबेला नै त होनी ।’ कत्रो जाँगर । उनले मलाई समाज सेवा मात्रै सिकाएनन्, राज्य कसरी चल्छ ? भन्ने कुरा समेत सिकाए । कुनै राजनेताको भन्दा कम थिएन उनको सुझवुझ । पछि गल्फ खेल्ने क्रममा पनि बरालसँग मेरो बाक्लो भेटघाट हुन थाल्यो रोयल गल्फ क्लवमा त्यतिबेला शक्ति केन्द्रमा रहेका पहुँचवालाहरुको ठूलो भिड हुन्थ्यो । त्यो भीडमा सायद सबै भन्दा बबुरो म नै थिएँ । तर उनले सबै भन्दा बढी आत्मियता मलाई नै देखाउँथे । मलाई गल्फको स्टीक दिएर सदस्य बनाएको उनले नै हो ।

धेरै लामो आयु लिएर आएका भाग्यमानी रहेछन् बराल । आइजीपीबाट अवकाश लिएपछि पनि करिव १० वर्ष राजदूत र राष्ट्रिय पंचायतको सदस्य बन्ने मौका पाए । त्यो अवधीमा पनि सबै भन्दा सफल राजदूतका रुपमा आफ्नो नाम दर्ज गराए । सबै भन्दा सफल रापंसका रुपमा आफ्नो नाम दर्ज गराए । २०४६ सालमा प्रजातन्त्र पुनवर्हालीपछि भने उनी ओझेलमा परे । २००७ सालको क्रान्तिमा योगदान पुर्याएकै नाममा विवादास्पद पूर्व आइजीपीलाई नेपाली कांग्रेसले सांसद हुँदै सहायक मन्त्रीसम्म बनायो, तर त्यत्रो अनुभव, क्षमता र योगदान भएका बराललाई कसैले सम्झेन । र पनि समाजसेवा मार्फत मातृभूमी प्रतिको कर्तव्यमा उनी चुकेनन् । २०४६ साल पछिका तीन दशक सक्रीय समाजसेवीका रुपमा विताए ।

जीवनको अन्तिम कालखण्डमा समेत उनको निवास (प्रहरी अस्पताल महाराजगञ्जको गेट अघि) मा यति ठूलो भीड हुन्थ्यो की, कुनै बहालवाला आइजीपी कहाँ समेत त्यति ठूलो भीड हुने गरेको मैले देखिन । उनको घरको फराकिलो कम्पाउण्ड सँधै भरिभराउ हुन्थ्यो । बहालबाला प्रहरी अधिकृतहरु सल्लाह सुझाव माग्न उनको निवासमा पुगिरहन्थे । ९० वर्ष नाघिसक्दा समेत उनको जोस, जाँगर तथा होसमा कत्ति पनि कमी आएको मैले देखिन । हातखुट्टा चलुन्जेल देशका कुना काप्चा पुगिरहे । सबैको शुभकामनाकै कारण ९३ वर्षको उमेरसम्म उनी सक्रीय भइरहे ।

सम्पन्न परिवारमा जन्मे हुर्केका बराल आर्थिक रुपमा पनि निकै सवल थिए । आफ्नो घर परिवारलाई पनि प्रहरीको जस्तै अनुशासनमा राखेका थिए । प्रहरी भनेको बर्दी लगाएको समाजसेवी हो, जागिरे मात्रै होइन भन्ने उनको मुल मन्त्र थियो । यही मुल मन्त्रलाई आत्मसात गर्दै उनले आफ्नो नातीलाई प्रहरी के हो यसको काम कर्तव्य र अनुशासन बुझ्नका लागि गएको स्थानीय निर्वाचनमा म्यादी प्रहरीमा भर्ती गरेर अन्य जवानले जस्तै ड्युटीमा खट्ने निर्देशन दिए । उनका नाती पुजन बरालले त्यसबेला महाराजगंजको एउटा विद्यालयमा रहेको बुथमा अन्य म्यादी प्रहरीले जस्तै ड्युटी गरेर हजुबुबाको निर्देशन पालना गरेका थिए । राष्ट्र सेवाको भावनामा समर्पित गराउन बरालले नातीलाई त्यो ठाउँमा पठाएका थिए ।

मानिसहरुले गणेशमान सिंहलाई लौह पुरुष भन्ने गर्छन् । म पूर्व आइजीपी बराललाई सतिसाल भन्न मन पराउँछु । वास्तवमा राणा शासन समाप्त गर्न बरालको ठूलो योगदान थियो ।

No description available.

२००७ सालको क्रान्ति सम्पन्न भए पछि उनी राजनीतिको सट्टा प्रहरी सेवामा लागेको मुलुकका लागि ठिकै भयो जस्तो लाग्छ मलाई । उनले राजनीतिलाई नै निरन्तरता पाएको भए अरु नेताहरुले जस्तै कि त जेलमै सड्नु पथ्र्यो, कि त विदेशीको दलाल बनेर मातृभूमीप्रति गद्धारी गर्नेहरुको सूचिमा दरिनु पथ्र्यो । तर उनले प्रहरी सेवामा लाग्ने बाटो तय गरे । उनी प्रहरी संगठनमा लाग्दा नेपाल प्रहरीको स्थापना भएको भरखर पाँच वर्ष नाघेको थियो । सयौं वर्षको इतिहास बोकिसकेको सेनाले नेपाल प्रहरीको अस्तित्व स्वीकार गर्न समेत सकेको थिएन । दरबारमा नेपाल प्रहरीको पहुँच थिएन । यस्तो अवस्थामा प्रहरी संगठनलाई जोगाउँदै सेना भन्दा काविल बनाउनु कम चुनौति थिएन । आफ्नो क्षमता राजा महेन्द्र र वीरेन्द्रलाई चिनाउन उनी सफल भए । बास्तवमा उनी दरबारको अघोषित सुरक्षा सल्लाहकार थिए ।

असफल नेता सफल कुटनीतिज्ञ
बराललाई सफल राजनीति कर्मी भन्न मिल्दैन । अहिलेसम्म उनी जति सफल आइजीपी अर्को बन्न सकेन । तर उनको कुटनीतिक क्षमता तथा सफलताबारे थोरैलाई मात्रै जानकारी छ । बास्तवमा अहिलेसम्म नेपालको राजदूत भएर अर्को देशमा काम गर्ने मध्ये बराल जति सफल कोही पनि देखिएका छैनन् । उनी छ बर्ष वर्माको राजदूत भएर सेवा गर्दा ‘भूतो न भविष्यति’ भन्ने छाप छोडेका छन् । जसको संक्षिप्त चर्चा गरिन्छ ।

२०३६ सालको माघ–फागुनतिर बराल राजदूत भई बर्मा पुग्दा त्यहाँ नेपालीको जनसंख्या करिब साढे तीन लाख थियो । तत्कालीन जनरल ने विनको नेतृत्वमा कठोर सैनिक शासन भएकाले त्यहाँ नागिरकका धेरै अधिकार प्रतिबन्धित थिए । यस्तो अवस्थामा प्रत्येक गोरखालीसँग कम्तीमा दुई चार सय गाई थियो । जुनसुकै जंगल पसेर आफूलाई चाहे जति जग्गा आवाद गर्न छुट थियो । आवाद गरेको सबै जग्गा स्थायी रूपमा आफ्नै हुन्थ्यो । यसैले उनीहरूसँग जग्गाको कमी थिएन ।

यद्यपि बर्माका अधिकांश नेपाली त्यहाँ दोस्रो दर्जाको नागरिकसरह जीवन बिताइरहेका थिए । साथमा एफआरसी (फरेनर रेजिस्ट्रेसन सर्टिफिकेट) मात्र भएको हुँदा अनुमतिबिना बर्मामा हिँडडुल गर्न उनीहरु प्रतिबन्धित थिए । अन्य बर्मेलीसरह अधिकार थिएन । उनीहरु सरकारी सेवाको अवसरबाट वञ्चित थिए ।

साथै डाक्टर र इन्जिनियरिङका कोर्सहरू पढ्नबाट समेत उनीहरुमाथि प्रतिबन्ध लगाइएको थियो । उनीहरु कम्पनीसमेत दर्ता गर्न पाउँदैन थिए । त्यसैले बर्माका अधिकांश नेपालीको जीविका कृषिकै भरमा थियो । अधिकारविहीन भएर शरणार्थीको जीवन जिउन बाध्य भएकोमा उनीहरू दुःखी थिए । ‘नेपाल फर्कन पाऔँ’ भनी भिसा र राहदानीका लागि दैनिक दुई तीन सय नेपाली बर्मास्थित दूतावासमा लाम लाग्थे ।

यद्यपि उनीहरु नेपाल फर्किए पनि नेपाली नागरिकता पाउन सहज थिएन । यो वास्तविकता उनीहरूले बुझेका थिएनन् । नेपाल फर्किएको अवस्थामा उनीहरूको दैनिकी अझ कष्टकर बन्ने निश्चित थियो । यो बुझेर राजदूत बरालले उनीहरूलाई बर्मिज नागरिकता दिलाउन प्रयास गरे । जुन प्रयासमा उनी सफल भए । वर्माको नेपाली समुदायमा नेपाली भाषा र संस्कृति विस्तारै लोपोन्मुख अवस्थामा थियो । बर्माका नेपालीले नेपालीपनलाई बचाई राखुन् भन्ने राजदूत बरालको चाहाना थियो । आफ्नो आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप नरुचाउने बर्माको सैनिक शासनमा नयाँ कुरालाई सहजै कार्यान्वयन गर्न सकिने स्थिति थिएन ।

यस्तो अवस्थामा पनि बर्मामा नेपाली भाषा र संस्कृतिका साथै हिन्दु धर्मको जगेर्ना गर्न बरालले राजदूतको पदभार ग्रहण गरेदेखि नै अग्रसरता देखाए । बर्माका विद्यालयमा बर्मिज भाषाबाहेक अरू भाषा पढ्न नपाइने त्यस समयमा नेपालीका लागि छुट्टै विद्यालय स्थापना गर्न सम्भव थिएन । नेपाली भाषालाई लोप हुनबाट बचाउन बरालकै पहलमा नेपालबाट कक्षा १ देखि ४ सम्मका नेपाली भाषाका पुस्तक मगाइए । डिप्लोम्याटिक ब्यागमा लगिएका महेन्द्रमाला र सामाजिक शिक्षाका ती पुस्तकहरूको पठनपाठनका निम्ति उनको निर्देशनमा बर्माका नेपालीहरूलाई धेरै ठाउँमा नेपाली फोया (मन्दिर) स्थापना गर्न लगाइयो । प्रत्येक फोयामा गौतम बुद्धको मूर्ति अनिवार्य राख्न लगाई वरपर राम, कृष्ण, शिव र देवीका मूर्ति राखिए । यसबाट धार्मिक सहिष्णुताको अभिवृद्धि भयो र नेपाली भाषाको पठनपाठन पनि सहज हुन गयो ।

नेपालको निर्दलीय पञ्चायती व्यवस्थामा झैँ नेविन सरकारले पनि बर्मामा संगठनमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तो अवस्थामा बरालले एक वर्षको सतत प्रयासबाट सम्बन्धित सरकारी पदाधिकारीहरूलाई सहमत गराई २०३८/३९ सालतिर ‘अखिल बर्मा देशीय हिन्दु गोर्खा संघ’ दर्ता गराए । त्यही संघ अन्तर्गत नेपाली भाषाको पठनपाठनले गति लियो । बर्माका नेपालीले अहिलेसम्म नेपाली बोल्न र लेख्न सक्नु यसैको परिणाम हो ।

नेपालको मौलिकपनलाई जीवन्त राख्ने अभिप्रायले बरालको निर्देशनमा नेपालबाट सूचिकारहरू झिकाएर नेपाली पोसाक सिलाउने व्यवस्था गरियो । दौरा सुरुलाल, इस्टकोट, चौबन्दी चोलो आदि बर्मामा हालसम्म कायमै छन् ।

२०३९ सालतिर तत्कालीन राजदूत बरालको अग्रसरतामा बर्मामा नेपाली साहित्य सम्मेलन आयोजना गरियो । यस सम्मेलनमा ‘ऐरावदी’ नामक प्रथम नेपाली त्रैमासिक पत्रिकाको प्रकाशन थालनी गर्ने निर्णय भयो । ऐरावदी पत्रिकाले करिब तीन दशकसम्म निरन्तरता पायो ।

त्यस्तै राष्ट्रिय विभूतिका रूपमा आदिकवि भानुभक्त आचार्य बर्मेली नेपालीको मस्तिष्कमा सदैव रहून् भनी राजदूत बरालको अग्रसरतामा बर्मामा प्रत्येक वर्ष असार २९ का दिन ‘भानु जयन्ती’ मनाउने निर्णय गरियो । २०४० सालतिरको २९ असारमा बरालको पहलमा बर्मामा प्रथम पटक भानु जयन्तीको कार्यक्रम आयोजना गरिएको थियो । नेपाली बस्ती भएका ठाउँहरूमा हालसम्म भानु जयन्ती मनाउने परम्पराले निरन्तरता पाइरहेको छ ।

बराल बर्मामा राजदूत छँदा बर्मेलीहरूले सधैँ उनी सामु पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्थे । उनीहरूलाई नेपाल लैजान नसके पनि पशुपतिनाथलाई नै बर्मा ल्याउने संकल्प बरालले गरे । बरालको अग्रसरतामा नेपालका शिल्पकारहरूबाट आराध्यदेव श्री पशुपतिनाथको मूर्ति तयार गर्न लगाई बर्मा पुर्याइयो । २२ वैशाख २०४१ मा राजदूत बरालबाट बर्मास्थित तत्कालीन मेम्योमा भव्य समारोहबीच नेपाली वास्तुकलामा आधारित पशुपतिनाथको मन्दिर उद्घाटन गरियो । बर्माका नेपालीका लागि धार्मिक एकताको प्रतीक बनेको त्यो मन्दिरमा प्रत्येक वर्ष चैते दशैँमा बर्मा भरका नेपालीले तीन दिने मेला मनाउँछन् । साथै उनीहरुले महाशिवरात्री, तीजलगायत अन्य चाडपर्व समेत सोही मन्दिरमा मनाउँदै आएका छन् ।

यसका अतिरिक्त सामाजिक मेलमिलाप गर्ने र जातीय हितका विषयमा विचार विमर्श गर्ने महत्त्वपूर्ण थलोको रूपमा पनि सो मन्दिर परिचित बन्दै गएको छ । यसले बर्मालाई नेपालसँग आध्यात्मिक रूपमा पनि जोडेको छ । २०३६ सालको फागुन र चैतमा तत्कालीन राजा वीरेन्द्रको बर्मा भ्रमण भयो । भ्रमणले बर्मिज सरकारद्वारा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने अभियानमा सहयोग पुग्न गयो । बर्मा नेपालको शान्ति क्षेत्रको प्रस्ताव स्वीकार्ने तेस्रो राष्ट्र बन्यो ।

अन्त्यमा
एउटा युगको अन्त्य भएको छ । नेपाल प्रहरीको जिउँदो इतिहास समाप्त भएको छ । तर शरीर मरे पनि बरालको योगदान मरेको छैन । भावि पुस्ताका लागि उनको जीवनी ठूलो प्रेरणाको स्रोत हो । नेपाली आमले यस्ता योग्य सपुत जन्माउन अब धेरै वर्ष पर्खनु पर्छ । नेपाल प्रहरीले यस्ता आइजीपी पाउन त अब कति युग पर्खनु पर्ने हो थाहा छैन । उनी पछिका अधिकांश आइजीपी हरुको हविगत हेर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.