राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षी कोविन्दलाई कूटनीतिक पत्र

| 2021 May 27 | 07:08 am 1469

काठमाडौँ, जेठ १३ः नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दस लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । नेपालले दस लाख मात्रा खोप खरिदका लागि पहिल्यै रकम भुक्तान गरिसकेको छ । सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गरेकी राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

उक्त पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण उत्पन्न सङ्कटले त्यहाँको धेरै जनताको ज्यान गएकोमा दुःख प्रकट गरेकी छिन् । महामारीबाट प्रताडित रहेको अवस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छिन् । अझ नेपाल–भारतबीच रहेको खुला सिमानाले नजिक बनाएको सम्बन्धका कारण पनि थप साझेदारी र सहकार्य आवश्यक रहेको उनले औँल्याएकी छिन् ।

उनले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद प्रकट गरेकी छिन् ।

राष्ट्रपतिले लेखेकी कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयले मङ्गलबार नै भारतीय राष्ट्रपतिको कार्यालयमा पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए। नेपालले भारतसँग २० लाख मात्रा कोभिसिल्ड खोप खरिदका लागि भुक्तान गरेकोमा दस लाख मात्रा मात्र खोप नेपाल आएको छ ।

भारतमै कोरोना तीव्र प्रसार भएपछि बाँकी दस लाख मात्रा भारतले दिन सकेको छैन । सोही खोपका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलमार्फत सहजीकरणका लागि अनुरोध गरिरहेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.