समाचारको विषयमा पत्रकारलाई सर्वोच्चद्वारा माफी माग्न दबाव

रिपोर्ट नेपाल | 2021 May 25 | 09:18 pm 2557

काठमाडौं, जेठ ११ः मंगलबार सर्वोच्च अदालतले समाचार लेख्ने दुईजना पत्रकारलाई कार्यालयमै बोलाएर माफी माग्न दबाव दिएको छ । प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको ब्यहोराको समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई  सर्वोच्च अदालतले सोधपुछका लागि भन्दै  बोलाइएको हो ।

अदालतले बोलाएपछि पत्रकार महासंघका पदाधिकारीलाई लिएर सम्पादकद्वय अदालत गएका थिए । उनीहरुलाई सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले समाचारको श्रोत पुष्टि गर्न आग्रह गर्दै समाचार हटाउन र क्षमा माग्न भनेका थिए ।

पत्रकारद्वयले समाचारमा चित्त नबुझेको भए अदालतले विज्ञप्ति मार्फत खण्डन गर्नुपर्ने या प्रेस काउन्सिलमा जानुपर्ने जवाफ दिँदै  यसरी बोलाएर दबाव दिइनु उचित नभएको बताएका थिए ।

यसै समाचारको विषयलाई लिएर पत्रकारहरुलाई सर्वाेच्च अदालत बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’

महासचिव पुरीले भनेका छन्, ‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.