सत्तारुढ एमालेको विवाद उत्कर्षमा

रिपोर्ट नेपाल | 2021 May 21 | 09:15 am 1621

काठमाडाैं, जेठ ७ः राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए। थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ।

एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको थियो। तर बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रहविपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन्। यसबाट आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कार्यदलको अर्को बैठक शुक्रबार बस्ने भनिएको छ। कार्यदलले बुधबार र बिहीबार पनि बैठक बस्ने भने पनि त्यस्तो हुन सकेन।

नेपाल पक्षले २०७५ जेठ २ को विन्दुबाट पार्टी संगठन अघि बढाउने सहमति भएको र त्यतिबेलाको कार्यसमितिले नचिनेका थापालाई उम्मेदवार बनाउने विषय नै गलत भएको बताएको छ। ‘हामीले सुरुदेखि नै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउने र त्यही सेरोफेरोमा रहेर विवाद समाधान गर्ने भनेका छौं। त्यसकारण एमालेको कार्य समितिले रामबहादुर थापालाई चिन्दैन’, नेपाल निकट एक नेताले भने।

कार्यदलका केही सदस्य राष्ट्रिय सभा सदस्य उपनिर्वाचन र नतिजाले पार्टी एकतामा कुनै फरक नपर्ने बताउछन्। तर ओली पक्षका केही नेताले कार्यदलको औचित्य सकिएको, नेपाल समूहले पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी हराएको र यो क्षम्य हुने विषय नभएको बताएका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.