भक्तपुर, जेठ २ः भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्टसहित ५० शैय्याकाे नगर अस्पताल निर्माण गर्ने भएको छ । दस शैय्याकाे आईसीयू, १५ शैय्याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई शैय्याकाे भेन्टिलेटर र २३ शैय्याकाे जनरल वार्ड सञ्चालनमा ल्याउन लागेको हो ।
नगरपालिका–८ स्थित सूर्यविनायकको जगातीमा निर्माणाधीन नगर अस्पतालमा कोरोनालगायत अन्य बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन प्लान्टसहितको अन्य पूर्वाधार निर्माणमा नगरपालिकाले तीव्रता दिएको हो ।
सूर्यविनायक नगरपालिकाले अस्पतालका लागि आवश्यक सामग्री खरिदका लागि तीन करोड र पूर्वाधार निर्माणका लागि एक करोड गरी चार करोड रुपियाँ तथा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दुई करोड २५ लाख रुपियाँ गरी जम्मा छ करोड २५ लाख रुपियाँमा नगर अस्पताल निर्माण गर्न लागेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए ।
नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च प्राथमिकता राख्दै नगरपालिकाले नगर अस्पताल निर्माण गर्न लागेको उनले बताए ।
सांसद महेश बस्नेतले निर्माणाधीन नगर अस्पतालको अवलोकन गर्दै अबको दुई साताभित्र नगर अस्पताल सञ्चालनमा आउने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिए । अक्सिजन र शैय्या अभावले कोरोना सङ्क्रमितलगायत अन्य बिरामीको मृत्यु हुनबाट रोक्नका लागि दुई साताभित्र अस्पताल निर्माण गर्न आफूले निरन्तर सक्रियता देखाएको उनले बताए । गाेरखापत्र दैनिकबाट