कांग्रेस सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई आवश्यक सहयोगका लागि अपिल

रिपोर्ट नेपाल | 2021 May 15 | 08:59 am 4961

काठमाडाैं, जेठ १ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड—१९ को सङ्क्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गरेका छन् ।

उनले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग गरेका छन् ।

सभापति देउवाले एक वक्तव्यमार्फत कोभिड–१९ को सङ्क्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव भएको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

उनले यस्ताे विषम परिस्थितिमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै देशभरिका कांग्रेस सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.