स्थानीय तहको निर्वाचन चार वर्ष पूरा: विकास निर्माण महत्त्वपूर्ण फड्काे

रिपोर्ट नेपाल | 2021 May 14 | 07:17 am 1889

काठमाडौं, वैशाख ३१ः स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने कानुन निर्माण, विकास निर्माण र कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा स्थानीय तहको भूमिका प्रभावकारी रहेको पाइएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगेको भने पनि कतिपय स्थानीय तहमा विकृति र विसङ्गतिले समेत स्थान पाएका छन् ।

स्थानीय स्तरमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका रूपमा स्थानीय सरकारले सेवा प्रवाह गर्नु सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको दृष्टिकोण छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जू श्रेष्ठले स्थानीय तहको निर्वाचन भएको चार वर्षमा स्थानीय सरकारले विकास निर्माणमा फड्को मारेको बताए । सडकको नयाँ ट्र्याक खोल्ने, कालोपत्रे र खण्डास्मिथ गरी देशभर एक लाख किलोमिटरभन्दा बढी सडक निर्माण गरेको बताए।

उनका अनुसार सबैलाई खानेपानी पुर्याउने गरी एक घर एक धारोको अभियान सञ्चालन गरी देशभर कुल खानेपानी वितणमा १५ प्रतिशत स्थानीय सरकारको योगदान रहेको छ । नागरिकलाई कोरोना रोकथाम र नियन्त्रण कार्यमा सचेत पार्दै स्थानीय सरकारको महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय तहको दाबी छ । शिक्षाका नयाँ भवन निर्माणमा स्थानीय सरकारले २२ प्रतिशत योगदान पुर्याएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याकाे अस्पताल निर्माण गर्ने घोषणा गरेसँगै अहिले धमाधम स्थानीय तहमा अस्पताल निर्माण कार्य भइरहेका छन्, कृषि उत्पादनमा छ प्रतिशत स्थानीय सरकारले योगदान पुर्याएका छन् । उनले भने, “स्थानीय तहको निर्वाचनपछि विकास निर्माणको अधिकांश काम उपभोक्ता समितिबाट हुँदा विकास र निर्माणको काममा स्थानीयको अपनत्व बढेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.