सरकार रमिते, जोखिममा बिरामी

| 2021 May 09 | 09:38 am 4253

बुटवल, बैशाख २६ः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना गरिदिन आग्रह गरिरहेका थिए। जति हारगुहार गरे पनि अक्सिजन अभाव भएकाले अस्पतालले भर्ना लिन सकेन।

उपचाररत संक्रमितकै लागि अक्सिजनको जोहो गर्न नसकेपछि नयाँ बिरामी भर्ना लिन समस्या भएको हो। यो अस्पतालमा बुधबारदेखि अक्सिजन अभाव छ। ‘गल्लीमै राखेर भए पनि उपचार गरिदिनुस्, अक्सिजन लगाइदिनुस् भन्दै बिरामीका आफन्तले रुँदै हात जोड्नुहुन्छ। कोही–कोही त खुट्टै ढोग्न खोज्नु हुन्छ’, चिकित्सक विष्णु गौतमले भने, ‘बिरामी र तिनका आफन्तले अस्पतालको गल्लीमै भए पनि ठाउँ दिनुस् भनेर अनुनयविनय गर्दा पनि चिकित्सक टुलुटुलु हेरेर बस्नुपर्ने कस्तो विडम्बना, कस्तो धर्म संकट, कस्तो निरीहता।’

भैरहवास्थित भीम अस्पतालको अवस्था पनि फरक छैन। कोरोनाका बिरामीले शनिबार दिनभर पनि अस्पतालको प्रांगण भरिएको थियो। अस्पतालले अक्सिजन अभावका कारण भर्ना नलिएपछि उनीहरू रुँदै फर्किएको एक स्वास्थ्यकर्मीले बताए। ती स्वास्थ्यकर्मीका अनुसार शुक्रबारदेखि नै अस्पताल परिसर कारुणिक छ।

अक्सिजनको चरम अभाव भएपछि रूपन्देहीका सरकारी र निजी अस्पतालले शुक्रबारदेखि नै नयाँ बिरामी भर्ना लिन छाडेका छन्। पहिला भर्ना भएका बिरामीकै लागि अक्सिजन जुटाउन अस्पतालहरूलाई हम्मेहम्मे परेको छ। बेड नपाएर ज्यान गुमाइरहेको अवस्थामा अक्सिजनको पनि अभावले संक्रमित त्रासमा छन्। अस्पतालहरूको अवस्था पनि बेहाल छ।

स्थिति भयावह भएपछि चिकित्सक नै अक्सिजन जुटाउन दौडधुप गर्नु परिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले बताए। तीन तहका सरकार रमिते बनेपछि उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन जुटाउन दगुर्नु परेको चिकित्सक बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानाको कोभिड विशेष अस्पतालका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ। तर आपूर्ति करिब ३ सय सिलिण्डर अक्सिजनमात्र रहेको अस्पतालका सूचना अधिकारीसमेत रहेका डा.गौतमले बताए। नागिरक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.