ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित

रिपोर्ट नेपाल | 2021 May 07 | 08:09 am 2449

ओखलढुङ्गा, बैशाख २४ः ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो । सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् ।

शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाहरू जताततै हिँडडुल खानपिन गरिरहेका छन् । गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भन्नुभयो, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो । जाँच्दा कोरोना पुष्टि भयो । झन् यस्ता नवप्रवेशीका कारण गाउँमा त्रास बढ्यो ।” कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौँ मानिस गाउँ फर्किएका छन् । उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन् ।

गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ । तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.