ओखलढुङ्गा, बैशाख ५ः गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव ऐतिहासिक जिल्ला ओखलढुङ्गा आउने भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् बरिष्ठ समाजसेवी रामहरी खतिवडाका अनुसार पूर्व राष्ट्रपति यादव ओखलढुङ्गाको गेट माने भञ्याङमा रहेको भगवती उच्च माध्यमिक विद्यालयको एक विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउने भएका हुन् ।
उक्त विद्यालमा राष्ट्रिय गान (सयौं थुंगा फूलका हामी) का रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) देखि रामहरी खतिवडा लगायत विभिन्न तह र तप्कामा रहेका व्यक्तिले अध्ययन गरेका हुन् ।
१० गते शुक्रबार हेलिकोप्टरबाट कार्यक्रम स्थल पुगी सोही दिन पूर्व राष्ट्रपति यादव फर्कन कार्यक्रम रहेको आयोजकले जनाएको छ । डा यादवले विद्यालय परिसरमा नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।