कोरोनाले घेरिँदै ‘नेपालगन्ज’

रिपोर्ट नेपाल | 2021 Apr 18 | 08:17 am 2197

बाँके, बैशाख ५ः भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक-एक जना रहेका छन् ।

दश जनामा आठ जना गुजरात र दुई जना दिल्लीबाट आएका हुन् । नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।

नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् । भारतको गुजरात, दिल्ली, मुम्बईमा कोरोना बढेपछि घर फर्किने नेपालीको चाप बढ्दो रहेको छ । भारतका विभिन्न शहरबाट शनिबार करिब २ हजार नेपाली फर्किएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार १ सय ६ जनामा कोरोना पुष्टि भयो । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय ९० जनालाई जाँच गर्दा १ सय ६ जनालाई कोरोना पुष्टि भएको थियो ।

भेरीको जाँचमा कोरोना पुष्टि भएका सबै बाँकेका होइनन्, बर्दियालगायतका जिल्लामा पनि रहेका छन् ।शनिबार नै राति दाङ नारायणपुरकी ३७ वर्षीया महिलाको नेपालगञ्जमा मृत्यु भयो । चैत २६ गते नेपालगञ्ज मेडिकल कजेजमा ल्याइएकी उनलाई त्यही कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा सारिएको थियो । उनको गएराति १ः२७ बजे मृत्यु भयो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।

दोस्रो वर्षमा फैलिएको कोरोनाको धेरै असर बाँके अर्थात् नेपालगञ्ज शहरमा परेको छ । पछिल्लो सात दिनमै ७ सय आसपासमा पुगेको संक्रमितको संख्यालाई हेर्दा सबै यहाँका मात्रै छैनन् । भारतबाट आउदा कोरोना देखिनेहरु कर्णाली प्रदेशका छन् । अस्पतालहरुमा बाहिरी जिल्लाका बाहिरी पनि छन् । बाँकेवासी पनि संक्रमणमा परेका छन् ।दैनिक सय बढी विरामी थपिरहँदा स्थानीय तहहरु आइसोलेसन बनाउन कस्सिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले गतवर्ष पनि आइसोलेसन बनाइएको ह्वाइट हाउस होटललाई आइसोलेसनका रूपमा शनिबारदेखि नै सञ्चालनमा ल्याएको छ । अहिले त्यहाँ नाकामा कोरोना पुष्टि भएका व्यक्तिलाई राखिएको छ । ह्वाइट हाउसमा सय जनासम्मलाई राख्न सकिने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वली बताउछन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.