सर्वदलीय बैठकका मुख्य एजेन्डा नै एमसीसी

रिपोर्ट नेपाल | 2021 Apr 18 | 07:11 am 1901

काठमाडौं, बैशाख ५ः सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अगाडि बढाउने गृहकार्य थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई अगाडि बढाउन राजनीतिक दलहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकका मुख्य एजेन्डा नै एमसीसी बनेको थियो ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले एमसीसीमा भाँजो हालेको आरोप लगाएका थिए । उनले सभामुखकै कारण संसद् बन्धक बनेको समेत आरोप लगाएको जानकारी दिँदै बैठकका सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने– ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसद्लाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो ।’ एमसीसीलाई सभामुखले संसद्मा अड्काउने काम गरेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा कांग्रेसलगायतका दलले पनि सो विषय संसद्मा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेस गरिनुपर्ने धारणा राखेको बताइएको छ । बैठकमा कांग्रेसका नेताहरूले एमसीसी पास गर्ने विषयमा सरकारलाई साथ दिने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको र त्यसबारे ढुक्क रहन आग्रह गर्दै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसद्मा अड्किएको विधेयकबारे छलफल केन्द्रित भएको बताए ।

उनले एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसद्ले स्वीकृत अस्वीकृत जे गरे पनि त्यसलाई प्रक्रियामा लगिनुपर्नेमा जोड दिइएको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.