संक्रमणको जोखिम भएका स्थल बन्द गर्न अपिल

रिपोर्ट नेपाल | 2021 Apr 17 | 07:59 am 1517

काठमाडाैं, बैशाख ४ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको मृत्युदर बढ्दै गएको जनाउँदै संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समयमात्र खोल्न अपिल गरेको छ।

मन्त्रालयअन्तर्गतको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको बैठकले कोरोना संक्रमण बढ्न नदिन नागरिकलाई समेत जिम्मेवार बन्न अपिल गरेको हो। निर्णयको पहिलो बुँदामा कोरोनाको असरबाट बच्न हरेक नागरिकलाई उच्च सतर्क हुन अनुरोध गरिएको छ। ‘कोभिड संक्रमणबाट जोगिन र जनस्वास्थ्य मापदण्ड पालना गरिदिनुहुन ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेबार बनिदिनु’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट अति प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत बारा र बाग्लुङका अति भीडभाड हुने क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था छ। मन्त्रालयले रेस्टुराँ, डान्सबारजस्ता स्थल राति ७ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। त्यसैगरी क्लबहरू, खेलकुद, जिमखाना, सार्वजनिक पूजाआजाका स्थल, सभासम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायतका स्थलमा सहभागी नहुन अनुरोध गरेको छ।

सबै अस्पतालले अनिवार्य रूपमा फिभर क्लिनिक सञ्चालन गरी कोभिड १९ परीक्षण व्यवस्थापन गर्न, विदेशी पाहुनाको हकमा रजिस्ट्रेसन गरी पिसिआर नेगेटिभ आएको अवस्थामा मात्र होटेलमा राख्न, सबै अस्पतालका कम्तीमा ५० प्रतिशत बेड छुट्याई तोकिएअनुसार निःशुल्क सेवा दिन पनि मन्त्रालयले निर्देशन दिएको छ।

निजी अस्पतालले पिसिआर परीक्षण गर्दा २ हजार रूपैयाँभन्दा बढी लिन नपाउने, संक्रमितको हकमा औषधिबाहेक दैनिक उपचार सेवामा जटिलता हेरेर ३५ देखि १५ हजार रूपैयाँ नबढ्ने गरी लिन, बालबालिका, सुत्केरी महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको कोभिड १९ परीक्षण तथा उपचारमा प्राथमिकता दिन पनि मन्त्रालयले निर्देशन दिएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.