राष्ट्रिय घटना दर्ता अभियान सुरु

रिपोर्ट नेपाल | 2021 Apr 14 | 09:50 am 1629

काठमाडौँ, वैशाख १ः आगामी २०७८ साल वैशाख १ देखि १६ गतेसम्म ‘राष्ट्रिय घटना दर्ता अभियान’ सुरु गरिएको छ । व्यक्तिगत घटना दर्ता (जन्म–मृत्यु)लाई शतप्रतिशत पु-याउने लक्ष्यअनुरूप सो अभियान सुरु गरिएको हो ।

सरकारले वैशाख १ गतेलाई घटना दर्ता दिवसका रूपमा मनाउँदै आएको छ । यो अवधिमा नयाँ तथा पुराना, छुट हुन गएका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी पाँच किसिमका व्यक्तिगत घटना दर्ता गर्न सकिने छ ।
गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार १६ दिने घटना दर्ता अभियानअन्तर्गत देशभरिका पालिकाको छ हजार ७४३ वटा स्थानीय वडा कार्यालय र अस्थायी शिविरबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गरिएको छ ।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइ थप सात दिनमा छुट भएकाहरूको दर्ता गरी सन् २०२४ सम्म शतप्रतिशत पु-याउने योजना रहेको बताए ।

“नेपालभित्र जो जहाँ बसे पनि नजिकको वडा कार्यालय तथा घटना दर्ता शिविरमा पुगेर जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ र आफन्तको मृत्यु घटना दर्ता गराउन सकिने छ”, उनले भने, “यो अभियान छोराछोरीको जन्म र आफन्तको मृत्यु दर्तालाई बढी लक्षित छ” प्रचलित कानुनले जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउनुपर्ने व्यवस्था गरे पनि विविध कारणले नहुने गरेको स्वीकार्दै महानिर्देशक बस्नेतले दिगो विकास लक्ष्य प्राप्तिसँगै मुलुकको समग्र विकास निर्माणमा व्यक्तिगत घटना दर्ता अनिवार्य भएको स्पष्ट पारे ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन, पञ्जीकरण घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । विभागले ‘बायोमेट्रिक’ सूचनासहितको एनआईडी (राष्ट्रिय परिचयपत्र) वितरणलाई पनि प्रभावकारी बनाउने जनाएको छ ।

सम्भवतः साउनबाट राहदानीमा एनआईडी नम्बर अनिवार्य गर्ने तयारी हुँदैछ । सामाजिक सुरक्षा भत्ता लिन छुट नागरिकका लागि पुनः घटना दर्ताको व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा भत्ताको दुरुपयोग हुन नदिन बैङ्किङ सेवा अनिवार्य गरिएको विभागले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.