विभूषणमा नेपालको नयाँ नक्सा समावेश नगरेपछि सांसदहरूकाे आपत्ति

रिपोर्ट नेपाल | 2021 Apr 13 | 07:20 am 2009

काठमाडौं, चैत ३१ः सरकारले हालै वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्सा समावेश नगरेपछि सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा नपरेको सम्बन्धमा प्रधानमन्त्री केपी ओली शर्माले संसद्मा जवाफ दिनुपर्ने माग गरेकी छन् ।

गत वर्ष नै वितरण गरिनुपर्ने सो पदक कोरोना महामारीका कारण सरकारले केही दिनअघि मात्र वितरण गरेको थियो । पदकमा पुरानै नक्सा भएको भन्दै आलोचना शुरु भएपछि सांसदहरूले पनि यसबारे प्रश्न उठाएका गरेका छन् । बैठकमा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर बोहराले राष्ट्रियताको विषय उठाउँदै भने– ‘चुच्चे नक्सा देखाएर राष्ट्रियतामा आक्रमण भएको छ ।’बैठकमा सांसदहरूले जनजीविका तथा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले हुम्लामा हुन सक्ने खाद्यान्न अभावदेखि अमेरिकी सहयोग परियोजना एमसीसीसम्मका कुरा उठाएका थिए । सत्तारूढ दल एमालेका सांसद खगराज अधिकारीले एमसीसीलाई संसद्को कार्यसूचीमा पारेर अघि बढाउन माग नै गरेका छन् ।

नेपाली कांग्रेसका सांसद गगन थापाले बेरोजगार युवाहरूको रोजगारीको विषयमा सरकार मौन बसेको टिप्पणी गर्दै कोभिडको प्रभावले पर्यटनलगायतका क्षेत्रमा लाखौंले रोजगारी गुमाउँदा पनि सरकार मौन रहेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.