उपत्यका स्तरीय नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७७ सम्पन्‍न

रिपोर्ट नेपाल | 2021 Apr 07 | 05:25 pm 2937

काठमाडाैं, चैत २५ः सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा उपत्यका भित्रका तीन जिल्लाहरुमा बसोवास गर्ने भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार भन्‍ने मूल नाराकासाथ श्री उपत्यका पृतना हेड क्वाटर, नारायणहिटीमा आयोजना भएको उपत्यकास्तरीय भू.पू. सैनिक सम्मेलन-२०७७ सम्पन्न भएको छ ।

राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा उपत्यका भित्रका ३ वटा जिल्लाहरु (काठमाडाैं, भक्तपुर र ललितपुर) मा बसोबास गर्ने भू.पू.सम्मेलनको लागि दर्ता भएका १९७६३ जना मध्ये १३०० जना प्रत्यक्ष सहभागिता रहेको थियो भने COVID-19 को कारण अन्यलाई Virtual माध्यम मार्फत सहभागी गराइएको थियो ।

गत वर्ष कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशहरुबाट शूरु भई आज आयोजना भएको तेस्रो चरणको अन्तिम सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले कल्याणकारी कोषका हिताधिकारीहरुको आवश्यकता र अपेक्षालाई सम्बोधन हुने गरी कल्याणकारी गतिविधिहरु विकेन्द्रित गरिएको वताएका थिए ।

सम्बोधनकै क्रममा उनले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ को लक्ष्य सिप सिकाउनु र आत्मनिर्भर बनाउनु रहेको बताउदै कल्याणकारी कोष मार्फत अवकाश प्राप्त सैनिक ब्यक्तिहरुको लागि स्वेदशमा नै रोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापन सुनिष्चित गर्न अधिकतम प्रयास गर्दै आएको बताएका थिए ।

उक्त कार्यक्रममा गणेशदल गणबाट २०२८ सालमा अवकाश भएका जेष्ठ भूतपूर्व सैनिक १०० वर्षका काठमाडाैं बौद्ध निवासी सुवेदार नरबहादुर बस्नेत (अ.प्रा) र श्री वीरेन्द्र अस्पतालबाट अवकासप्राप्त स्वर्गीय हुद्दा प्रेमबहादुर थापा मगर (अ.प्रा.) को श्रीमती वर्ष १०४ की जेष्ठ एकल महिला श्रीमती गंगादेवी थापामगरलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु व्यवसायी बन्‍न सफल भक्तपुर जिल्ला चाँगुनारायण न.पा.-८ का जमदार दत्तुप्रसाद तिमिल्सिना (अ.प्रा.) र भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका वडा नं. ९ निवासी जमदार राजन खत्री (अ.प्रा.) को श्रीमती रुकुदेवी खत्रीलाई सम्मान गरिएको थियो ।

उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने ८ जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ६ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

भू.पू. सैनिकहरुको तर्फबाट अवकास प्राप्त रथीबृन्दहरु तथा भूतपूर्व सैनिक संघका सभापतिबाट सम्बोधन एवं बलाधिकृत रथी प्रभुराम शर्माको मन्तव्य सहित समापन भएको उक्त कार्यक्रमको जनता टेलिभिजन तथा सोही टि.भि.को YouTube Channel र Facebook Page बाट समेत प्रत्यक्ष प्रसारण भएको थियो ।

सो सम्मेलनमा पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, प्रमुख जिल्ला अधिकारी, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि, सञ्चारकर्मीहरु तथा राष्ट्रिय सेवा दलका स्वयंसेवकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानीत जीवन यापन गर्दै राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.