प्रदेश नं.२ र बाग्मती प्रदेश स्तरीय नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७७ सम्पन्‍न

रिपोर्ट नेपाल | 2021 Mar 31 | 05:07 pm 1729

काठमाडाैं, चैत १८ः सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा प्रदेश नं. २ र बाग्मती
प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार भन्‍ने मूल नाराका साथ महोत्तरीको बर्दिवासस्थित श्री मध्य पूर्वी पृतना हेडक्वाटरमा आयोजना भएको प्रदेश स्तरीय भू.पू. सैनिक सम्मेलन-२०७७ सम्पन्न भएको छ ।

राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा प्रदेश नं २ को ५ र बाग्मती प्रदेशको ५ गरी जाम्मा १० वटा जिल्लाहरुमा बसोबास गर्ने ७३१७ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न
अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुहुँदै यस प्रकारको कार्यक्रमले भू.पू. तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताएका थिए ।

सम्बोधनकै क्रममा उनले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ कार्यान्वयन भएको उल्लेख गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत सहितका कल्याणकारी कार्यक्रमहरु तय गरी कार्यान्वयन प्रारम्भ भएको बताएका थिए ।

सोही दौरान उनले नेपाली सेनाले बहालवाला सकलदर्जा तथा अवकाश प्राप्त हिताधिकारीहरुको लागि कोभिड-१९ बिरुद्धको खोप उपलब्ध गराउने तर्फ पहलता थालिएको बारे अवगत गराउदै नेपाल सरकारको मपदण्ड अनुरुप नेपाली सेनाको पहलतामा भू.पू. सैनिक, एकल महिला तथा आश्रित परिवारहरुलाई खोप लगाउने कार्य थालनी गरिएको र अन्य
हिताधिकारीहरुलाई समेत क्रमश: खोप लगाउने अभियानमा सरिक गराउदै जाने जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक ९१ वर्षका बर्दिवास नपा. कालापानी ३ निवासी गनर रुद्र बहादुर बस्नेत (अ.प्रा) र श्री शम्सेरदल गणबाट अवकास प्राप्त स्वर्गीय सु. लोक बहादुर थापा (अ.प्रा.)को श्रीमती लिखु तामाकोशी गाउँपलिका, दुरागाउँ निवासी वर्ष ९८ की जेष्ठ एकल महिला श्रीमती सुमित्रा थापालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु व्यवसायी बन्‍न सफल सिन्धुली जिल्ला कमलामाई न.पा.का हु राम बहादुर विश्वकर्मा (अ.प्रा.) लाई सम्मान गरिएको थियो ।

उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने २८ जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ४ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

भू.पू. सैनिकहरुको तर्फबाट अवकास प्राप्त रथीबृन्दहरु तथा भूतपूर्व सैनिक संघका सभापतिबाट सम्बोधन एवं बलाधिकृत रथी प्रभुराम शर्माको मन्तव्य सहित समापन भएको उक्त कार्यक्रम नेपाल टेलिभिजन प्रादेशिक शाखा
ईटहरी तथा सोही टि.भि.को YouTube Channel र Facebook Page बाट समेत प्रत्यक्ष प्रसारण भएको थियो ।

सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुका साथै सम्मानपूर्ण सामाजिक जीवनमा स्थापित भई सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.