बम विस्फोट घटनामा संलग्न दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 31 | 08:20 am 2301

सिरहा, चैत १८: लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार भनिएका सुखिपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालिग्राम शर्माले जानकारी दिए।

दुवै जनालाई सोमबार सुखीपुर नगरपालिका-५ बाट जिल्ला प्रहरी कार्यालय सिरहा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो। मंगलबार उनीहरुलाई सार्वजानिक गरेको छ। गएको चैत १ गते मालपोत कार्यालय लहानमा बम विस्फोट भएको थियो। प्रहरीकाअनुसार पक्राउ परेका दुबै जनाले विस्फोट आफूहरुले गराएको स्वीकार गरिसकेका छन्।

मालपोत कार्यालयको पहिलो तल्लामा दर्ता चलानी शाखा नजिकै सेवाग्राही अत्यधिक चाप रहेको बेला बम विस्फोट गराइएको थियो। जसमा परी ८ जना घाइते भएका थिए। गम्भीर घाइते भएका एक जना काठमाडौंमा उपचाररत छन्। घटनास्थलमा तराई जनतान्त्रिक मुक्रि मोर्चा(गोइत समुह) का पर्चा टुक्रा-टुक्रा भएको अवस्थामा फेला परेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.