सरकारले चालू अधिवेशन अन्त्य गर्ने तयारी

| 2021 Mar 30 | 07:12 am 2425

काठमाडौं, चैत १७ः पुनःस्थापित प्रतिनिधिसभालाई जनसरोकार वा अन्य महङ्कवपूर्ण कामै नदिई सरकारले चालू अधिवेशन अन्त्य गर्ने तयारी अघि बढाएको छ।

वैशाखमै बजेट अधिवेशन शुरु गर्नुपर्ने कारण देखाउँदै सरकारले जारी बैठक तत्काल स्थगन गर्ने तयारी अघि बढाएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसद् विघटनका कारण हिउँदे अधिवेशन ढिलो शुरु भएकाले वैशाखमै वर्षे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागिएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै संसद् बैठक अन्त्य गर्ने विषयमा राष्ट्रपति र सभामुखसँग पनि छलफल गरिसकिएकाे बताइएको छ। संसद्लाई कामै नदिइकन अन्त्य गर्ने तयारीप्रति विभिन्न दलका नेताहरुले भने आपत्ति जनाएका छन्।

सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते पहिलो बैठक बसेको पुनःस्थापित संसद्को अहिलेसम्म पाँचवटा बैठक बसिसकेको छ। पहिलो बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच संवैधानिक परिषद्सम्बन्धी अध्यादेश टेबल भयो। दोस्रो र तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारितमै सीमित भयो। चौथो बैठकमा दलीय प्रतिनिधित्वको आधारमा संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले सम्बोधन गरे।

पाँचौं बैठकमा शून्य समय राखिएको थियो। शून्य समयमा सांसदहरुले समसामयिक राजनीतिक विषय र आफ्ना निर्वाचन क्षेत्रका समस्याका बारेमा कुरा राखे। तर, संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले पनि अहिलेसम्म संसद्मा सम्बोधनसमेत गरेका छैनन्। संसद्लाई कामविहीन तुल्याउँदै औपचारिकतामा सीमित गरिएको छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.