उपत्यकाका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध

रिपोर्ट नेपाल | 2021 Mar 26 | 07:39 am 1949

काठमाडौं, चैत १३ः उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।

यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिए ।

सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उनले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताए । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

विशेष गरी होली पर्वमा ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने दुई पाङ्ग्रे सवारीमाथिको कारबाहीलाई सशक्त बनाइने भएको छ । यसका साथै सर्वसाधारणका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.