कञ्चनपुर, चैत ११: छिमेकी मुलुक भारतमा दास्राे लहरकाे कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन थालेकाे छ । उक्त संक्रमणा नेपालमा पनि फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कञ्चनपुरमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ।
जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आदेश जारी गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।