विशेष अदालतद्वारा गच्छदारलाई तेस्रोपटक म्याद तामेली

रिपोर्ट नेपाल | 2021 Mar 23 | 08:22 am 2761

काठमाडाैं, चैत १०ः ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन्। विशेष अदालतले पटकपटक म्याद तामेलका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन्।

विशेष अदालतले सुनसरी जिल्ला अदालतलाई गच्छदारको घरमा म्याद तामेलीका लागि पठाएको थियो। अदालतले उपस्थितिका लागि उनको घरमा म्याद तामेली टाँसे पनि गच्छदार अदालत आएका छैनन्। उनलाई २०७७ फागुन २३ मा तेस्रोपटक म्याद पठाइएको छ।

ललितानिवास सरकारी जग्गा व्यक्तिको नाममा बनाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको एक वर्ष बढी भएको छ। एक वर्षसम्म आरोपितमध्ये जम्मा १ सय ३० जना अदालतमा उपस्थित भए। तीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीपकुमार बस्न्यात, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेल र जग्गा खरिदबिक्रीकर्ता शोभाकान्त ढकाललाई थुनामा पठाइएको हो। तीमध्ये पौडेल धरौटीमा थुनामुक्त भइसकेका छन्।

उनले विशेषको आदेशविरुद्ध थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए। त्यसपछि सर्वोच्चले पौडेललाई २ लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको थियो। पौडेललाई ३२ करोड १९ लाख २० हजार रूपैयाँ बिगोसहित सम्पत्ति जफत गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मागदाबी छ। नागरिक दैनकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.