फिरेन अझै काङ्ग्रेसको चेत !

| 2018 Jul 13 | 05:09 am 3696

– महेन्द्र पाण्डेय

नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवाई गरेको नेपाली कांग्रेस यतिखेर राजनीतिक मुलधारबाट नराम्रोसँग उछिट्टीएको छ । नेपालको इतिहासमा ०५१ सालमा गिरीजाप्रसाद कोइरालाको आफ्नै साथीहरूलाई पेल्ने लहडका कारण बाहेक यसरी भूमिकाविहीन अवस्थामा कांग्रेस कहिल्यै बस्नु परेको थिएन । यसरी, स्थानीय निर्वाचनमा जनताबाट बाहिरिन थालेको कांग्रेस पार्टी प्रदेश र केन्द्रीय निर्वाचनमा त पत्तासाफ भयो भन्दा पनि फरक नपर्ला ।

त्यतिबेला प्रधानमन्त्रीको कुर्सीमासमेत आसिन भएका सभापति शेरबहादुर देउवाले टिकट वितरण गर्दा पार्टीका प्रभावशाली र क्षेत्रमा राम्रो पकड भएकालाई भन्दा आफ्ना वरिपर घुम्ने ‘गणेश प्रवृत्ति’का मान्छेलाई टिकट दिएकै कारण ऐतिहासिक पार्टी कांग्रेसको लज्जास्पद हार भएको कुरालाई नकार्न सकिन्न । स्वर्गीय सुशील कोइराला जिवीत रहँदासम्म दुई खेमामा मात्रै भएको कांग्रेस उनको स्वर्गरोहणपछि रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र संस्थापन गरेर चार खेमामा विभाजित छ ।

देउवाले टिकट वितरण गर्दा जति गल्ती गरे त्यसैको बराबरी गुटमा अर्को गुटबाट एकले अर्कालाई हराउँदै गर्दा बडो मुस्किलले प्रकाशमान सिंह बाहेक अरु सबैले पराजय भोग्नु परेको तीतो यथार्थ हो । आकाशतिर फर्किएर थुक्दा त्यो थुक आफ्नै अनुहारमा पर्छ भन्ने जड कुरालाई रामचन्द्र पौडेल र कृष्ण सिटौलाहरूले मनन गरेको भए आज संघीय सदनमा आफ्नो मात्रै नभएर धेरै कांग्रेसको उपस्थिति रहन्थ्यो । सभापति शेरबहादुर देउवालाई यसअघिका निर्वाचनमा हजारौं मतको अन्तरले जिताउने डडेल्धुराका जनतामाझ यस पटकको निर्वाचनमा विजयी बन्न उनलाई पनि फलामको चिउरा चपाएसरह भएको कुरा घाम जत्तिकै छर्लंङ्ग छ ।

कम्युनिष्ट नेतृत्वमा बनेको केपी सरकारले एकपछि अर्को अलोकतान्त्रिक काम गर्दै जाँदा प्रतिपक्षी कांग्रेसले चार लाइनको प्रेस विज्ञप्ति प्रकाशित गर्नेबाहेक त्यसको विरोधमा केही गर्न नसकेको अवस्था छ । आफ्नो पार्टीभित्र बाघ बन्ने नेताहरू प्रतिपक्षको भूमिकामा बिरालो जत्तिको पनि देखिन सकेका छैनन् ।

यसरी पराजय भोगेर घाइते बाघ जस्तै भएको नेपाली कांग्रेस पछिल्लो समयमा फेरि आन्तरिक किचलोमा फस्ने, एकले अर्कालाई राजनीतिक रूपमा कसरी सिध्याउने भन्ने बाहेक अन्य संगठनको हितका लागि काम गरेको पाइएन । गएको महाधिवेशनमा शेरबहादुर देउवालाई खुलेर सहयोग गरेका कृष्ण सिटौला पनि यतिखेर रामचन्द्र पौडेलसँग मितेरी गाँसेर देउवाविरोधि वाण छाड्नमै व्यस्त देखिन्छन् । कम्युनिष्ट नेतृत्वमा बनेको केपी सरकारले एकपछि अर्को अलोकतान्त्रिक काम गर्दै जाँदा प्रतिपक्षी कांग्रेसले चार लाइनको प्रेस विज्ञप्ति प्रकाशित गर्नेबाहेक त्यसको विरोधमा केही गर्न नसकेको अवस्था छ । आफ्नो पार्टीभित्र बाघ बन्ने नेताहरू प्रतिपक्षको भूमिकामा बिरालो जत्तिको पनि देखिन सकेका छैनन् ।

संस्थापन पक्षले डोजर लगाउँदै अर्को पक्षलाई पेल्दै नियुक्ति गर्दै जाने र अर्को पक्षले युवा विद्यार्थीलाई उचालेर अवैधानिक काम गर्दै जाँदा भोलिका निर्वाचनमा यसले कसलाई फाइदा गर्छ ? राजधानीको एक पाँचतारे होटलमा बसेर रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र गगन थापा लगायतका नेताहरूको गोप्य बैठकबाट निर्णय भएबमोजिम विद्यार्थी नेता प्रकाश राना, कुन्दन काफ्ले, नवीन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीलाई पात्र बनाएर नेविसंघको महाधिवेशनको मिति तय गरिएको छ, यसले कसलाई फाइदा पुग्छ ?

कांग्रेसको आन्तरिक कलहको भरपुर फाइदा लिँदै केपी ओली नेतृत्वको सरकार चुनौतीका साथ एकपछि अर्को निर्णय गर्दै अघि बढ्दासमेत कांग्रेसले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेको छैन । डा. गोविन्द केसी र गंगामाया अधिकारी आमरण अनसन बसेर कतिखेर प्राण त्याग्ने हुन् भन्ने स्थितिमा छन्, तर प्रतिपक्षी कांग्रेस सानेपाको एउटा बन्द कोठाबाट प्रेस विज्ञप्ति जारी गरेरै मात्र बसिरहेको छ । एकले अर्कोलाई सिध्याउनको लागि एकथरीले बुढानिलकण्ठ त आर्कोले तारे होटलमा बसेर कुमबुटी बाँध्नुभन्दा सरकारले गरिरहेका गलत कृयाकलापका विरुद्ध एक भएर लाग्ने हो भने पेलेर अघि बढ्न त सक्ने थिएन कम्युनिष्ट सरकारले ।

तसर्थ, अहिले एकआपसमा जुहारी खेल्दै पौँठेजोरी खोज्ने कांग्रेस नेता हो ! भोलि इरानको राजाले कहीँकतै टेक्ने र समाउने ठाउँ नपाएर पछुताएझैँ तिमिहरू जेलको चिसो छिँडीमा गएर बल्ल पछुताउनु पर्ला । चेतना भया !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.