धादिङ, चैत ९ः खानेपानीको समस्या झेल्दै आएको सिद्धलेकको आदामारावासीको समस्या समाधान भएको छ। गाउँ नजिकै खानेपानीको मुहान नभएका कारण धादिङको सिद्धलेक गाउँपालिका–४ आदामारामा वर्षौंदेखि खानेपानीको समस्या हुँदै आएको थियो। तर अहिले प्रत्येकको घरमा खानेपानी पुगेको छ। घरघरमा जडान गरिएका धारामा खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी भएका छन्।
गाउँमा रहेका पुराना मुहान सुक्दै गएका कारण खानेपानीको व्यवस्था गर्न निकै संघर्ष गर्नुपरेको स्थानीय माया मगरले बताइन्। ‘पहिले खोलाको धमिलो पानी डोकोमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अहिले घरघरमा खानेपानीको सुविधा पुगेको छ।’ घरघरमा पानी पुगेपछि करेसाबारीमा तरकारी लगाउन, गाइबस्तुलाई पानी खुवाउन समेत सहज भएको मगरको भनाइ छ।
पूर्णिमा कार्यक्रम अन्र्तगत अक्सफामको सहयोग प्रयास नेपाल धादिङले सञ्चालन गरेको योजनाबाट आदामाराबासीको घरघरमा खानेपानी पुगेको हो। यस गाउँका ४२ घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराइएको प्रयास नेपाल धादिङका कार्याकारी निर्देशक दामोदर अर्यालले बताए। ‘खानेपानीको अभाव झेल्दै आएका आदामारीबासीको समस्या समाधानमा सारथी बनेका छौं,’ उनले भने, ‘१३ लाख ८१ हजार १ सय ४२ रूपैयाँ र स्थानीय उपभोक्ताबाट ५ लाख ७ हजार २ सय ५० रूपैयाँ बराबरको जनश्रमदान गरेर जम्मा १८ लाख ८८ हजार ४ सय २ रूपैयाँको लागतमा योजना सम्पन्न गरिएको हो।’
घरघरमा खानेपानी पुगे पछि अब आदामारा गाउँ पूर्ण सरसफाइमा अघि बढेको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए। प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाइएको र फोहोर व्यवस्थापनको लागि काम सुरु गरिएको उनले बताए। नागरिक दैनिकबाट