बजेट अभावका कारण बाघ नियन्त्रण गर्न नसकिएकाे वन अधिकृत वाग्लेकाे अभिव्यक्तिप्रति स्थानीय रुष्ट

रिपोर्ट नेपाल | 2021 Mar 19 | 08:37 am 2017

बर्दिया, चैत ६ः मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो। बाघले आक्रमण गरेर ६ महिनाभित्र नौजना ज्यान गएको छ। बाटो हिँड्दा, घाँस काट्दा र घरबाहिर निस्केका बेला बाघले झम्टिँदा वन डिभिजनको कार्यक्षेत्रमा पर्ने भग्रैया र धनौरा गाउँका स्थानीयको ज्यान गएको हो।

सुरुमा खेल्दै गरेका धनौराका दुई बालबालिका बाघले लगेको थियो। त्यसपछि त्यहाँका ६ जना र बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका थप तीन जना गरी नौजनालाई बाघले खाइसकेको रेकर्डले पुष्टि गर्छ। बाघको गाँस बनेका सर्वसाधारणलाई यतिबेला बाघ संरक्षणका नामले निम्त्याएको दुःखान्त भनेर दुःखी छन्।

जनताको छोरा वा छोरी बाघले खाँदा संरक्षणको नाम जप्ने संघ, संस्था, सरकारी निकायको बेवास्ताका कारण दुःखदायी स्थिति आएको सामुदायिक वन महासंघका केन्द्रीय सदस्य मोहम्मद कर खाँले बताए। ६ जनाको ज्यान लिने बाघको तस्बिर वन डिभिजनले क्यामरामा कैद गर्न नसक्नु दुःखद भएको प्रतिक्रिया उनले दिए।

बजेट अभाव भएकाले बाघ नियन्त्रण गर्न नसकिने वन अधिकृत महेन्द्रराज वाग्लेले दिएको सार्वजनिक अभिव्यक्तिप्रति स्थानीय रुष्ट छन्। बाघ नियन्त्रण नगरे आन्दोलन घोषणा गर्ने खाँले बताए। ‘दिनहुँ मानिसको ज्यान गइरहेको छ, राज्य मूकदर्शक बनिरहेको छ,’ उनले भने।

शुक्रबारदेखि बाघको बासस्थाननजिक नजान र सजग रहन जिल्ला प्रहरी कार्यलय माइकिङ सुरु गरेको छ। त्यसबाहेक सर्वसाधारणलाई बचाउन सरोकारवाला निकायले केही गतिविधि गरेको देखिँदैन। बाघको आक्रमणमा परेर दुःखी बनेको परिवार यतिबेला विक्षिप्त छन्। वन अधिकृत वाग्ले बाघ आक्रमणको विषयमा गम्भीर नदेखिएको स्थानीयको आरोप छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.