काठमाडाैं, चैत ५ः अवैध रूपकाे वन्यजन्तुको आखेटोपहारसहित एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका ७ का ३४ वर्षीय टेक बहादुर थिङ रहेका छन् ।
उनलाई अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा काभ्रेपलाञ्चोक बेथानचोक गाँउपालिका २ ग्वाभञ्ज्याङ्गबाट संरक्षित वन्यजन्तु चितुवाको छाला तथा हड्डीसहित पक्राउ गरेकाे हाे ।
अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा थिङलाई बुधबार पक्राउ गरिएको व्यूराेले जानकारी दिएकाे हाे । पक्राउ परेका उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा पठाईएको बताइएकाे छ ।