काठमाडौं, असार २५ : बाढी आएको बेला सामाजिक सञ्जालमा फोटो हालेर पानीजहाजको कुरा गर्नेलाई कारबाहीको माग गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले भक्तपुर सडकमा बाढी आएको फोटो हालेर पानीजहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका हुन् ।
संसदमा विशेष समयमा बोल्दै बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बस्नेतले बताए । यसरी मानवीय संवेदनामाथि खेलबाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नु पर्ने माग समेत गरे ।
भक्तरपुरमा आएको बाढीले भक्तपुर बासीहरू पीडामा परेको हुँदा सामाजिक सञ्जालमा पानी जहाज आयो भन्दै उडाउनु भन्दा पनि बाढी पीडितहरूलाई सहयोग गर्न आग्रह गरे । उनले भने, ‘भक्तपुरका जनताहरू बाढीको पीडामा अलमलिरहनुभएको छ । कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन् । सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् । यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढङ्गले लागू गर्नैैपर्छ ।’
बाढीका कारण भक्तपुरको राधेराधे क्षेत्र, नगरकोट जाने चाँगुनारायणको बाटोमा पर्ने ठाउँ बाढीको जोखिममा परेको छ । उनीहरूलाई स्थानीयलाई नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ।
अविरल वर्षासँगै आएको कारण भक्तपुरमा तीनजनाको मृत्यु समेत भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एउटा टहरो पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।