एमाले बाहेकका तीन राजनीतिक दलहरूकाे गृहकार्य अगाडि

रिपोर्ट नेपाल | 2021 Mar 14 | 07:14 am 3161

काठमाडाैं, चैत, १ नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ । सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन गरेर एक चरण प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेलगत्तै जसपाले कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका जसपाका नेताहरूले शनिबार माओवादी केन्द्रसँग छलफल गरेको छ । माओवादीको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ ।

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकले ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष निकालेको बताए । उनले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जिकिर गर्दै भने– ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानु? ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो ।’प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यका लागि दौडधूप गर्दै आएका जसपाका अर्का अध्यक्ष महन्त ठाकुरले सत्ता समीकरणबारे माओवादी केन्द्रसँग सकारात्मक कुराकानी भएको बताए ।

उनले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको जानकारी दिँदै थुनामा रहेका सांसद रेशम चौधरीलाई रिहा गरिदिए सरकारलाई धन्यवाद दिने बताए ।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका जसपाको मागका विषयमा सकारात्मक कुराकानी भएको बताए ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका शीर्ष नेताहरूबीच एक चरण छलफल गरिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई आगामी सरकारको नेतृत्व लिन आग्रह गरिसकेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.