बागलुङ, फागुन २७ः ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक जानकाे मृत्यु भएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा वडा नं २ की १४ वर्षीया मीना रसाइली रहेको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए। घाइते भएकी उनीकाे घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा मृत्यु भएको उनको भनाइ छ ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।
ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीले घाइतेहरूको उद्धार गरेका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।