सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिको फरक मोड

रिपोर्ट नेपाल | 2021 Mar 11 | 08:58 am 2309

कैलाली, फागुन २७ः सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद उत्पन्न भएको छ। यसै विषयलाई लिएर धनगढी उपमहानगरपालिका–३ स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार दुवै पक्षबीच झडप भयो।

सर्वोच्चको फैसलापछि पार्टी कार्यालयहरूमा नेकपा एमाले लेखेका ब्यानर र साइन बोर्ड झुन्ड्याउने क्रम चलेको छ। जिल्ला पार्टी कार्यालय कैलालीमा मंगलबार दुवै पक्षको उपस्थितिमा नेकपा एमालेको बोर्ड टाँगिएको थियो। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ६ जिल्लाका कार्यालयमा नेकपा एमालेको बोर्ड लगाइसकिएको छ। यस क्रममा कतै पनि विवाद भएन। प्रदेश कार्यालयमा बुधबार बोर्ड राख्ने क्रममा विवाद हुँदा भने झडपको अवस्था निम्तियो।

बिहान साढे ११ बजे प्रदेश पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने भन्दै ओली पक्षका कार्यकर्ताले पत्रकारलाई समेत खबर गरेका थिए। तर साढे १० बजे नै नेपाल पक्षका कार्यकर्ता कार्यालय पुगेर नेकपा एमाले लेखेको बोर्ड लगाए। केही समयपछि एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापाको नेतृत्वमा ओली पक्षका नेता तथा कार्यकर्ता प्रदेश कार्यालय पुगेका थिए। प्रहरीले सुरुमा १५ मिनेटजति नेता थापालाई कार्यालयभित्र प्रवेशमा रोक लगाए पनि पछि जान दियो। थापाको नेतृत्वमा रहेका कार्यकर्ताले नेपाल पक्षका कार्यकर्ताले पहिला लगाएको बोर्ड हटाइदिए। उनीहरूले प्रदेश कार्यालयमा राखिएको प्रदेश इन्चार्ज रावल र प्रदेश अध्यक्ष भानुभक्त जोशीको बोर्ड पनि हटाएर इन्चार्ज भट्ट र अध्यक्ष कर्ण थापा लेखेको बोर्ड राखे। विरोधमा नेपाल पक्षका कार्यकर्ताले प्रदेश इन्चार्ज भट्ट लेखेको बोर्ड हटाएपछि झडप भएको हो। बिहानैदेखि सुरक्षाकर्मी कार्यालय गेटबाहिर तैनाथ भए पनि झडप टर्न सकेन।

झडपका क्रममा कोही घाइते नभए पनि चारवटा कुर्सी भाँचिएका छन। झडपपछि केही बेर दुवै पक्षले नाराबाजी गरिरहे। नेपाल पक्षले रावल जिन्दावाद र अर्को पक्षले ओली जिन्दावाद, भट्ट जिन्दावाद भन्दै नारा लगाए। झडप साम्य भएपछि नेपाल पक्षका कायकर्ता कार्यालयबाट बाहिरिएका थिए। त्यसपछि फेरि नेता थापाले एमालेको बोर्ड लगाए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.