काठमाडौं, फागुन २७ः एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।
बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घट्नाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो । तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताउनुअघिसम्म नेपाल समूहले पार्टीभित्र ओलीको नेतृत्वलाई अस्वीकार गर्दै आइरहेको थियो । तर, सर्वोच्चले एमाले ब्युँताएपछि भने सो समूह ओलीप्रति केही लचक बन्दै पार्टी एकताको मुख्य अभिभारा ओलीकै काँधमा आइपरेहको निष्कर्षमा पुगेको हो । साथै उसले आगामी दिनमा ओलीको नेतृत्व सहर्ष स्वीकार्ने संकेत पनि गरेको छ । तर, नेपाल समूहमा नेकपामा रहँदा लागेको गुटगत भेला गर्ने बानी र संस्कारमा भने कुनै परिवर्तन नआएको भन्दै ओली समूह अझै संशकित छ । तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टिएर एमालेमा आउने क्षणमा वरिष्ठ नेता नेपालले एमालेमा गएर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने बताएका थिए । प्रचण्डसँग नेपालले गरेको त्यस्तो टिप्पणीलाई आमएमाले नेता र कार्यकर्ताले भने रुचाएका थिएनन् । ‘एमालेमा आएर संघर्ष गर्ने विषय अरूलाई भन्दै हिँड्ने होइन, पार्टीमा नै आएपछि संघर्षका विषय उठाउनुपर्छ ।’ त्यतिबेला नै एमालेका कार्यकर्ताले नेपालप्रति असन्तुष्टिसहितको टिप्पणी गर्दै भनेका थिए ।
भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एकथोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानीसमेत गरिने जनाएको छ ।
नेपाल समूहले अब एमालेको एकता जोगाएर शक्तिशाली र जनप्रिय पार्टी बनाउने प्रमुख दायित्व अध्यक्ष ओलीकै भएको निष्कर्ष निकालेको छ । यसका लागि अध्यक्ष ओलीले नै आवश्यक भूमिका खेल्नुपर्ने निष्कर्षसमेत सो समूहले निकालेको छ । स्रोतका अनुसार भेलामा वरिष्ठ नेता नेपालले अब सबैले विगतमा गरेका कमीकमजोरी सच्याएर एकजुट भएर अघि बढ्न सबै पक्ष तयार हुनुपर्ने बताएका थिए । दुवै पक्षमा रहेको शंका उपशंका हटाउन पनि बैठक अनिवार्य रहेको बताइएको छ । राजधानी दैनिकबाट