काठमाडाैं, फागुन २६ः सुन्दा अचम्म लाग्ला, चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको हो। चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।
‘यो महत्वाकांक्षी आयोजना हो। तर सम्पन्न गरेरै छाड्ने संकल्प गाउँपालिकाले लिएको छ,’ उनले नागरिकसँग भने। हालसम्म पाँच सय मिटर पदयात्रा पर्खाल निर्माण कार्य सकिएको शेर्पाले जानकारी दिए। उनका अनुसार साविक इचोक गाविसको बुद्धपार्क र नागिडाँडाबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायांग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिनेछ।
लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल पदमार्ग जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको सोचाइ आएको अध्यक्ष शेर्पा बताउँछन्। ‘हेलम्बु आफैंमा पर्यटकीय गाउँ हो। त्यसैले वार्षिक लाखौं पर्यटक पदमार्ग पर्खाल हेर्न आउँछन् भन्ने विश्वास गाउँपालिकाले लिएको छ,’ उनले भने।
पदमार्ग पर्खाल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाइँदै छ। आकर्षक ढंगले काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० वटा दरका सिँढी (खुड्किलो) बनाएर जोडिने छ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुईमिटर अग्लो पर्खाल लगाइनेछ। ‘ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएका ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौं,’ अध्यक्ष शेर्पाले भने। नागरिक दैनिकबाट