काठमाडौं फागुन २५ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको एक समारोहकाबीच उद्घाटन गरेका छन ।
उदघाटन गर्दै महानिरीक्षक खनालले नेपाल एपीएफ अस्पताललाई सहयोग पुर्याएकोमा कोभिड–१९ निर्देशन समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोख्रेल तथा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) का शंकर ढकाललाई प्रसंसापत्र प्रदान गरेका थिए।
कोभिड–१९ महामारीको समयमा नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि कोभिड–१९ संक्रमित तथा अन्य विरामीहरुको आकस्मिक तथा नियमित स्वास्थ्य उपचारमा अहोरात्र परिचालित भई स्वास्थ्य उपचारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल एपीएफ अस्पतालका १ सय १६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत महानिरीक्षक खनालले प्रशंसापत्र प्रदान गरेका थिए । महानिरीक्षक खनालले कोभिड–१९ महामारीको समयमा अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य उपचार सेवाको विभिन्न निकायहरुबाट प्रशंसा भइरहेको स्मरण गर्दै सशस्त्र प्रहरी बल, नेपालका स्वास्थ्यकर्मीहरुले महामारीको समयमा किञ्चित विचलित नभई उच्च मनोबलका साथ अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा देखाएको पूर्ण व्यावसायीकताको मुक्तकण्ठले प्रसंसा गरे ।

खनालले नेपाल एपीएफ अस्पतालको स्तरोन्नतीका लागि आफुहरु सुरुदेखि नै अस्पताललाई राष्ट्रियस्तरको अस्पताल बनाउने सोचका साथ कृयाशिल रुपमा अगाडी बढिरहेको चर्चा गर्दै हालै थपिएको एमआरआई, एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाबाट गम्भिर प्रकृतिका रोगहरुको बेलैमा पहिचान तथा थप उपचारमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे ।
महानिरीक्षक खनालले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका परिवारजन, मानव सेवा आश्रममा आश्रित बृद्धबृद्धाहरु, विद्यार्थी लगायत सर्वसाधारण नागरिकलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्न दत्तचित्त भई निरन्तर कृयाशिल रहन समेत निर्देशन दिए । संगठनको विकास तथा विस्तारमा सबैले सामुहिक भावनाकासाथ आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने उल्लेख गर्दै महानिरीक्षक खनालले भावी पुस्ताका लागि के योगदान दिनसक्छौ भनि चिन्तनशिल भई निरन्तर रुपमा पूर्ण व्यावसायीक भई कार्यसम्पादनमा कृयाशिल रहन समेत आग्रह गरेका थिए ।
सोही समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय खडगबहादुर राई र राजु अर्याल तथा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महार्जनले अस्पतालमा कार्यरत रहि उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा योगदान पुर्याउने जुनियार अधिकृत, बिल्लादार तथा जवान गरी कूल ३ सय २४ जनालाई प्रसंसापत्र प्रदान गरे ।